काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाममा विद्युत् अभाव हुन नदिन भारतबाट १ हजार १ सय ५४ मेगावाट बिजुली आयात गर्ने तयारी गरेको छ ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सुक्खायाममा बढ्ने विद्युत् मागलाई धान्न आन्तरिक उत्पादनसँगै भारतबाट विद्युत् आयात गरिने जानकारी दिएका हुन् ।
प्राधिकरणका अनुसार आगामी सुक्खायाममा आन्तरिक उत्पादन र आयातबाट गरी कुल २ हजार ३७२ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षको सुक्खायाममा विद्युत्को अधिकतम माग २ हजार २९२ मेगावाट पुगेको थियो ।
यसैबीच, गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा क्षति पुग्दा करिब ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको प्राधिकरणले जनाएको छ ।
बाढीबाट नेपाल विद्युत् प्राधिकरण तथा त्यसका सहायक कम्पनीका संरचनामा करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
श्रेष्ठका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम सम्पन्न भइसकेपछि विद्युत् गृह र सुरुङभित्र थुप्रिएको ढुंगा, माटो तथा लेदो हटाउने काम सुरु गरिनेछ । त्यसपछि क्षतिग्रस्त संरचनाको पुनःस्थापना र विद्युत् उत्पादन सञ्चालनतर्फ काम अघि बढाइने प्राधिकरणले जनाएको छ ।