काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालबाट १ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको गलैंचा निर्यात भएको छ । भन्सार विभागको भदौसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार साउन र भदौमा नेपालले १ अर्ब ७६ करोड ७४ लाख ९८ हजार रुपैयाँ बराबरको गलैंचा निर्यात गरेको हो ।
यस अवधिमा ५० हजार ९७६ वर्गमिटर गलैंचा विदेशी बजारमा पुगेको विभागले जनाएको छ । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा भने नेपालबाट १ अर्ब ५८ करोड ५४ लाख ३८ हजार रुपैयाँ बराबरको गलैंचा निर्यात भएको थियो । त्यतिबेला ५३ हजार ५७३ वर्गमिटर गलैंचा निर्यात गरिएको थियो ।
तथ्यांकअनुसार गत वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा गलैंचा निर्यातको परिमाण घटेको भए पनि निर्यातबाट प्राप्त रकम बढेको देखिन्छ । अर्थात् करिब २ हजार ५९७ वर्गमिटर कम गलैंचा निर्यात हुँदा पनि निर्यात मूल्य करिब १८ करोड २० लाख रुपैयाँले बढेको छ ।
नेपालमा उत्पादित गलैंचाको प्रमुख बजारका रूपमा अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, इटाली, अस्ट्रेलिया र चीनलगायतका मुलुक रहेका छन् । नेपाली गलैंचा विशेषगरी गुणस्तर, हस्तकलामा आधारित उत्पादन र मौलिक डिजाइनका कारण अन्तर्राष्ट्रिय बजारमा निर्यात हुँदै आएको छ ।
