दशैं–तिहारमा नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने

दशैं–तिहारमा नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने

बिहिवार, आश्विन १५ २०८३
बिहिवार, आश्विन १५ २०८३
  • दशैं–तिहारमा नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने

    काठमाडौं । यस वर्षको दशैं–तिहारमा नयाँ नोट साट्न नेपाल राष्ट्र बैंकमै पुग्नुपर्ने बाध्यता नहुने भएको छ । राष्ट्र बैंकले सर्वसाधारणको सहजताका लागि आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाटै नयाँ नोट सटही गर्न सकिने व्यवस्था गरेको छ ।

    विगतमा जस्तो नयाँ नोट सटहीका लागि निश्चित दिन तोकेर सूचना जारी गर्ने व्यवस्था यस वर्ष हटाइएको छ । सार्वजनिक बिदाबाहेक आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्थाका शाखाबाट निरन्तर नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई वितरण गर्न आवश्यक नयाँ नोट राष्ट्र बैंकबाट लिइसकेका छन् । नयाँ नोटको मौज्दात पर्याप्त रहेकाले सर्वसाधारणलाई आवश्यकता र उपलब्धताअनुसार एक–दुई सेटसम्म नयाँ नोट उपलब्ध गराइनेछ ।

    काठमाडौं उपत्यकामा थापाथलीस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट पनि नयाँ नोट साट्न सकिनेछ । त्यस्तै राष्ट्र बैंकका क्षेत्रीय कार्यालय तथा बैंक तथा वित्तीय संस्थाका शाखाबाट समेत नयाँ नोट सटही गर्न सकिने व्यवस्था गरिएको छ ।

    यसअघि दुई वर्ष नयाँ नोटको सट्टा सुकिला नोट प्रयोगलाई प्राथमिकता दिइएको भए पनि यस वर्ष भने नयाँ नोट नै सटही गरिने राष्ट्र बैंकले जनाएको छ । साथै नयाँ नोटको माग व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थालाई एटीएममार्फत साना दरका नोट उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

    बैंक तथा वित्तीय संस्थाको मागअनुसार अब एटीएमबाट १ सय रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । हाल अधिकांश एटीएमबाट ५ सय र १ हजार रुपैयाँ दरका नोट मात्र निकाल्न सकिने व्यवस्था रहेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij