यातायात कार्यालय भक्तपुरमा थेगिनसक्नु भीड, तीन महिनामै करिब ९० हजार चालक अनुमतिपत्र वितरण

यातायात कार्यालय भक्तपुरमा थेगिनसक्नु भीड, तीन महिनामै करिब ९० हजार चालक अनुमतिपत्र वितरण

बुधवार, आषाढ ३१ २०८३
बुधवार, आषाढ ३१ २०८३
  • यातायात कार्यालय भक्तपुरमा थेगिनसक्नु भीड, तीन महिनामै करिब ९० हजार चालक अनुमतिपत्र वितरण

    भक्तपुर । पाँच वर्षपछि ठूलो परिमाणमा चालक अनुमतिपत्र ‘लाइसेन्स’ कार्ड छापिएर आएपछि भक्तपुरस्थित यातायात व्यवस्था कार्यालय ‘सवारी चालक अनुमतिपत्र’ मा सेवाग्राहीको भीड थेगिनसक्नु भएको छ। कार्ड लिन आउने सेवाग्राहीको चापका कारण कार्यालयमा दैनिक लामो लाइन देखिन थालेको छ।

    कार्यालयले पछिल्लो तीन महिनाको अवधिमा मात्रै करिब ९० हजार चालक अनुमतिपत्र वितरण गरेको छ। कार्यालयमा हालसम्म दुई लाख ३८ हजार कार्ड छापिएर आएकोमध्ये ९० हजार सेवाग्राहीलाई वितरण गरिसकिएको हो।

    कार्यालयका सूचना अधिकारी जीवन बस्नेतका अनुसार लामो समयदेखि रोकिएका कार्ड एकैपटक छापिएर आएपछि सेवाग्राहीको चाप अस्वाभाविक रूपमा बढेको हो। उनका अनुसार कार्यालयले दैनिक एक हजारदेखि एक हजार आठ सयसम्म चालक अनुमतिपत्र वितरण गरिरहेको छ।

    कार्यालयले चालक अनुमतिपत्र वितरणसँगै स्कुटर, मोटरसाइकल, साना तथा ठूला सवारी साधनको लिखित परीक्षा, प्रयोगात्मक परीक्षा ‘ट्रायल’, अनुमतिपत्र नवीकरणलगायतका सेवा नियमित रूपमा प्रदान गर्दै आएको छ। दैनिक करिब दुई हजार पाँच सय सेवाग्राहीलाई सेवा दिँदै आएको कार्यालयले चालु आर्थिक वर्षको असार ३० गतेसम्म १९ करोड ८२ लाख ५७ हजार ९ सय रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

    e5a94b91-13e1-47c4-b661-cdbbc8866a82.jfif

    यद्यपि, जेन्जी आन्दोलनका क्रममा कार्यालयमा भएको आगजनीका कारण करिब एक करोड ९० लाख रुपैयाँ बराबरको क्षति पुगेको थियो। उक्त घटनापछि करिब दुई महिना सेवा अवरुद्ध हुँदा चालु आर्थिक वर्षको राजस्व संकलनमा प्रत्यक्ष असर परेको सूचना अधिकारी बस्नेतले बताए।

    राजस्व संकलनको तथ्याङ्क हेर्दा पछिल्ला वर्षहरूमा भने क्रमशः गिरावट देखिएको छ। कार्यालयले आर्थिक वर्ष २०८१ र ८२ मा २२ करोड १ लाख २२ हजार रुपैयाँ, आर्थिक वर्ष २०८० र ८१ मा २६ करोड ९२ लाख ५५ हजार रुपैयाँ तथा त्यसअघिल्लो आर्थिक वर्षमा २९ करोड १३ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।कार्ड वितरण तीव्र गतिमा भइरहे पनि सेवाग्राहीको अत्यधिक चापका कारण कार्यालयमा अझै पनि दैनिक भीडभाड कायम रहेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij