चाडबाडको मुखमा अनलाइन ठगीको बिगबिगी: सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी

चाडबाडको मुखमा अनलाइन ठगीको बिगबिगी: सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी

बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • चाडबाडको मुखमा अनलाइन ठगीको बिगबिगी: सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी

    काठमाडौँ । बडादसैँ र तिहारजस्ता चाडबाड नजिकिँदै गर्दा पोखरासहित देशभर अनलाइन ठगीका घटनाहरू चिन्ताजनक रूपमा बढेका छन् ।

     सामाजिक सञ्जालमा नक्कली विज्ञापन राखेर आकर्षक सामानको प्रलोभन देखाउने र अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गिरोह सक्रिय भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उपभोक्तालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो । पछिल्लो समय अनलाइन सपिङको मोह बढ्दै जाँदा प्रविधिलाई दुरुपयोग गर्दै ठगी गर्ने क्रम पनि ह्वात्तै बढेको छ । 

    भौतिक रूपमा पसलमा गएर किनमेल गर्नुको सट्टा घरमै बसेर मोबाइलमार्फत अर्डर गर्ने बानीको फाइदा उठाउँदै अपराधीहरूले टिकटक, फेसबुक र इन्स्टाग्रामलाई मुख्य हतियार बनाएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक ९डीएसपी० वीरेन्द्र पासवानका अनुसार गत वर्षको तुलनामा यस वर्ष अनलाइन ठगीका उजुरीहरू दिनानुदिन थपिँदै गएका छन् ।

    प्रहरीका अनुसार हालै पोखराका एक पीडितले ‘सन्ध्या कलेक्सन ३५’ नामक टिकटक आइडीबाट सामान किन्ने क्रममा ४ लाख ४२ हजार रुपैयाँ गुमाउनु परेको घटना सार्वजनिक भएको छ । पीडितलाई सामान्य ५ सय रुपैयाँको कुर्था खरिद गर्ने क्रममा ‘अग्रिम भुक्तानी’को प्रलोभन देखाई पटक–पटक रकम ट्रान्सफर गर्न लगाई खाता नै रित्याइएको थियो । सोही घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले धनगढीबाट एक १७ वर्षीय किशोरलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

    उहाँले भन्नुभयो, ‘कुनै पनि व्यक्तिगत सामाजिक सञ्जालको पेज वा टिकटक आइडीमार्फत हुने अस्वाभाविक सस्तो अफरबाट सचेत रहनुहोस् । अनलाइन भुक्तानी गर्दा सकेसम्म डेलिभरी भइसकेपछि मात्र पैसा तिर्ने विधि अपनाउनु सबैभन्दा सुरक्षित हुन्छ ।’

    प्रहरीले अनलाइन सपिङ गर्दा विशेष सावधानी अपनाउन र आधिकारिक दर्ता भएका विश्वासिला पोर्टलहरूबाट मात्र सामान खरिद गर्न सुझाव दिएको छ । साइबर अपराधबाट बच्नका लागि उपभोक्ता आफैँ सचेत हुनुपर्ने प्रहरीको भनाइ छ । दर्ता नभएका अनलाइन पसलहरूलाई विश्वास नगर्ने, जथाभाबी अग्रिम रकम नपठाउने र शङ्कास्पद अफरहरूमा नलोभिने कार्यले मात्र यस्ता ठगीका घटनाहरूलाई न्यूनीकरण गर्न सकिने प्रहरीको निष्कर्ष छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij