अब कांग्रेस जनमुखी राजनीतिमा फर्किनुपर्छ :सभापति  थापा

अब कांग्रेस जनमुखी राजनीतिमा फर्किनुपर्छ :सभापति  थापा

मंगलवार, आषाढ ९ २०८३
मंगलवार, आषाढ ९ २०८३
  • अब कांग्रेस जनमुखी राजनीतिमा फर्किनुपर्छ :सभापति  थापा
    सुरुङ्गा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगतका राजनीतिक निर्णय, सत्ता केन्द्रित प्रवृत्ति र अस्थिर गठबन्धनका कारण पार्टीप्रति जनतामा असन्तुष्टि बढेको स्वीकार्दै अब कांग्रेस जनमुखी राजनीतिमा फर्कनुपर्ने बताएका छन् ।
     
    झापाको विर्तामोडमा आज आयोजित कांग्रेसको जिल्लास्तरीय कार्यकर्ता भेटघाटमा उनले अब सरकार बनाउने अङ्क गणितभन्दा जनताको मन जित्ने राजनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
     
    सभापति थापाले स्पष्ट राजनीतिक आधारविना अन्य दलसँग गठबन्धन गर्ने, पुनः त्यही गठबन्धन तोड्ने प्रवृत्ति, सीमित नेताहरूको प्रधानमन्त्री बन्ने आकांक्षा तथा सत्ता भागबण्डाको राजनीतिले कांग्रेसको छवि कमजोर बनाएको बताए । त्यसको परिणाम स्वरूप निर्वाचनमा पराजित उम्मेदवारप्रति मात्र नभई कांग्रेसप्रति नै जनताले असन्तुष्टि व्यक्त गरेको उनको भनाइ थियो ।
     
    अहिलेको सबैभन्दा ठूलो चुनौती जनताको गुमेको भरोसा पुनः स्थापित गर्नु रहेको उल्लेख गर्दै सभापति थापाले देशका समस्या बुझेर समाधान गर्न सक्ने क्षमता अझै पनि कांग्रेससँग रहेको दाबी गरे । “कांग्रेस संसद्बाट जन्मिएको पार्टी होइन, कांग्रेसले संसद् जन्माएको पार्टी हो”, उनले भने, “प्रधानमन्त्री बन्ने मोहका कारण पार्टीको प्रतिष्ठा र जनविश्वासमा क्षति पुगेको हो ।”
     
    पार्टीका उपसभापति विश्वप्रकाश शर्माले मुद्दा लागेका सांसदलाई पनि निलम्बन नहुने व्यवस्था ल्याइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै त्यसले सुशासनको मान्यतालाई कमजोर बनाउने बताए । विगतका कमजोरी नेतृत्वको मात्र नभई आफ्नै पनि रहेको स्वीकार्दै पार्टीले आत्मालोचना गरिसकेको उनको भनाइ छ ।
     
    उनले झापाका चिया उद्योगसँग सम्बन्धित समस्या वार्तामार्फत समाधान गर्न सरकारसँग आग्रह गरे । भूमिहीन सुकुमवासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने, बाहुनडाँगी क्षेत्रमा बढ्दो जङ्गली हात्तीको समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने तथा विगतमा कांग्रेसको पहलमा निर्माण गरिएको विद्युतीय तारबारबाहेक प्रभावकारी काम हुन नसकेको उल्लेख गर्दै त्यसतर्फ विशेष ध्यान दिनुपर्ने धारणा राखे ।
     
    कार्यक्रममा सहभागी नेताहरूले सङ्गठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार, सुशासन, सामाजिक न्याय तथा स्थानीय समस्याको समाधानलाई कांग्रेसको आगामी राजनीतिक प्राथमिकताका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij