भक्तपुर । जनताको गुनासो, सुझाव र अपेक्षालाई प्रत्यक्ष रूपमा सुन्दै विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सूर्यविनायक नगरपालिका वडा नं. २ मा वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहकार्यमा वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि तथा स्थानीय नागरिकबीच खुला संवाद भएको थियो । कार्यक्रममा वडाले हालसम्म गरेका विकास निर्माणका कार्य, सार्वजनिक सेवा प्रवाह, सामाजिक, सांस्कृतिक, धार्मिक तथा वातावरणीय क्षेत्रमा भएका उपलब्धि र आगामी योजनाबारे विस्तृत जानकारी गराइएको थियो ।

वडाध्यक्ष प्रदीप कार्कीले खानेपानी समस्या समाधानका लागि उपत्यका खानेपानी लिमिटेड (मेलम्ची) लगायत विभिन्न निकायसँग सहकार्य भइरहेको जानकारी दिए । उनले वडाभित्र विभिन्न स्थानमा सीसीटिभी जडान, सडक बत्ती विस्तार तथा मर्मत, ढल, सडक, पुल, मठमन्दिर, फाल्चा र सामुदायिक भवन निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताए ।


वडाध्यक्ष कार्कीले सीमित स्रोतसाधनका बाबजुद पूर्वाधार विकाससँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई पनि निरन्तरता दिइएको उल्लेख गरे । उनका अनुसार वडाबाट ज्येष्ठ नागरिक परिचयपत्र वितरण, धार्मिक भ्रमण, न्यानो कपडा वितरण, ८० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान, स्वास्थ्य शिविर सञ्चालन, सुत्केरी कार्यक्रम, नेतृत्व विकास तालिम, योग प्रशिक्षण, शिक्षकका लागि कम्प्युटर तालिम, सीपमूलक तथा ड्राइभिङ तालिम, एसईईमा असफल विद्यार्थीका लागि निःशुल्क कोचिङ कक्षालगायतका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

हनुमन्ते नदी सरसफाइ र संरक्षणका विषयमा बोल्दै उनले उक्त कार्यमा छिमेकी स्थानीय तहहरूसँगको सहकार्य अपरिहार्य रहेको बताए । साथै हनुमन्ते करिडोर निर्माण तथा नदी आसपासका सार्वजनिक जग्गा संरक्षणका लागि संघीय सरकारको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा बालबालिकाको नैतिक विकास, संस्कार निर्माण तथा ज्येष्ठ नागरिकमैत्री कार्यक्रमलाई आगामी दिनमा थप प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरिएको थियो । सार्वजनिक जग्गाको खोज तथा संरक्षण अभियान जारी रहेको र त्यससँग सम्बन्धित केही जटिल विषय संघीय सरकारको समन्वयबाट समाधान गर्नुपर्ने वडाध्यक्ष कार्कीले बताए ।
कार्यक्रममा वडा सचिव बालकृष्ण कासुलाले चालु आर्थिक वर्षमा वडाबाट रु। १ करोड ८८ लाख ४६ हजार ८ सय ७३ राजस्व संकलन भएको जानकारी दिए । उनका अनुसार वडा तथा नगरपालिकामार्फत ४१ वटा विकास आयोजना सञ्चालनमा रहेका छन् । तीमध्ये २० वटा आयोजना सम्पन्न भइसकेका छन् भने १६ वटा निर्माणाधीन अवस्थामा छन् । चार वटा योजनाको सम्झौता प्रक्रिया बाँकी रहेको उनले वताए ।


सार्वजनिक सुनुवाईमा सहभागी स्थानीयवासीहरूले हनुमन्ते नदीको सरसफाइ तथा संरक्षण, खानेपानी समस्या समाधान, सडक सुरक्षा, सडक बत्ती, सीसी क्यामेरा विस्तार, सार्वजनिक शौचालय, पार्क तथा खेलमैदान निर्माण, सार्वजनिक जग्गा संरक्षण, ढल व्यवस्थापन, प्रदूषण नियन्त्रण, छाडा कुकुर व्यवस्थापन, लागुऔषध नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण, वृक्षारोपण, शिक्षा र स्वास्थ्य सेवाको सुधारलगायत विषयमा सुझाव, जिज्ञासा र गुनासा राखेका थिए ।

प्रहरी प्रभाग बालकोटका प्रमुख पदमबहादुर बलायरले नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रहरी सधैं जनतासँग रहेको बताउँदै सडक सुरक्षालाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे । कानुन उल्लंघनका घटनामा आवश्यक कारबाही गरिने तथा सम्बन्धित निकायसँग समन्वय गरेर शान्ति सुरक्षा कायम राखिने उनले बताए ।

आयोजक संस्थाका अध्यक्ष पेशल कुमार आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य प्रजुन तिखत्री तथा वडा सदस्यहरू जनार्दन खड्का, भगत रानाभाट, कल्पना खतिवडा ९दाहाल०, रञ्जिता तिखत्रीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमले वडा स्तरमा नागरिक र जनप्रतिनिधिबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गर्दै विकास, सेवा प्रवाह र सुशासनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पु¥याएको सहभागीहरूले बताए ।


