बागलुङ । बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव जितेर बाँदर नियन्त्रण गर्ने नीति ल्याउन आग्रह गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मत माग्न गाउँमा पुगेका उम्मेदवारलाई मतदाताले बाँदर आतङ्कले गाउँमा बस्न गाह्रो भएको गुनासो पोखेका हुन् ।
जैमिनी नगरपालिका–५ की कुमारी थापाले बसाइँसराइका कारण गाउँ रित्तो हुँदै गएपछि बाँदर गाउँका घरमा बस्न थालेको उनको भनाई छ । बारीमा लगाएको बालीदेखि घरमा राखेको सबै सामान बाँदरले नष्ट गरी दिँदा गाउँमा बस्न सक्ने अवस्था नभएको थापाको भनाइ छ ।
टोल छिमेकी सबै बजार झरेको भन्दै गाउँमा बस्ने वातावरण बनाउने नेतालाई जिताउनुपर्ने थापा बताउछिन् । थापाले भनिन, ‘पहिलो मान्छे विकास नभएर बजार झरे, अहिले विकास भएको छ तर बाँदरका कारण गाउँ छोड्नुपर्ने अवस्था आएको छ, जसले बाँदर नियन्त्रण गर्ने योजना ल्याउँछ उसैलाई भोट दिने हो ।”
स्थानीय प्रतीमा पौडेलले केटाकेटी र वृद्धवृद्धालाई गाउँमा एक्लै बस्ने समस्या हुने गरेको बताइन् । पहिले वनमा बस्ने बाँदर हिजोआज गाउँमा बस्न थालेको भन्दै केटाकेटी र बूढाबूढीलाई आक्रमण गर्न आउने उनको भनाइ छ । घर छोडेर मेलापातमा जाँदा एक÷दुई जना घर कुरुवालाई राखेर जानुपर्ने बाध्यता रहेको गुनासो पौडेलको छ ।
पछिल्लो पाँच वर्षदेखि गाउँमा बाँदरले आतङ्क मच्चाएपछि हुने खानेहरु सबै सहर बजार गइसके, गाउँमा हुने त उही सामान्य परिवारका मात्रै छन् । पहिले पहिले गाउँमा धेरै मान्छेहरु भएर होला बाँदर डराउँथे, अहिले त धपाउन खोज्दा उल्टै आक्रमण गर्न आउँछन् यो हिसाबले गाउँमा बस्न सक्ने अवस्था छैन, चुनावमा भोट माग्न आउने नेतालाई बाँदर नियन्त्रण गरी गाउँमा बस्ने वातावरण मिलाइ दिनु अनुरोध गरेका छौँ–पौडेलले भनिन्।
बरेङ–१ तमबहादुर विकले जनताको माग र आवश्यकतालाई बुझेर काम गर्ने नेतालाई भोट दिने बताए । धेरै थरिका नेताहरु भोट माग्न आइरहेको बताउँदै विकले यसपालि किसानका समस्या बुझ्ने उम्मेदवारलाई भोट दिने बताए ।