पर्सा–१ बाट अनिल रुंगटाको घोषणा – ‘वीरगञ्जमा एक खर्बको औद्योगिक लगानी भित्राउँछु ’

पर्सा–१ बाट अनिल रुंगटाको घोषणा – ‘वीरगञ्जमा एक खर्बको औद्योगिक लगानी भित्राउँछु ’

मंगलवार, फाल्गुण १२ २०८२
मंगलवार, फाल्गुण १२ २०८२
  • पर्सा–१ बाट अनिल रुंगटाको घोषणा – ‘वीरगञ्जमा एक खर्बको औद्योगिक लगानी भित्राउँछु ’

    वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका उद्योगी तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य अनिल रुंगटा ले वीरगञ्जको औद्योगिक क्षेत्रमा एक खर्ब रुपैयाँ बराबरको लगानी भित्राउने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन् ।

    फागुन २१ गते हुन गइरहेको निर्वाचनका सन्दर्भमा सञ्चारकर्मीसँग कुराकानी गर्दै रुंगटाले आफू निर्वाचित भए वर्तमान औद्योगिक नीतिमा व्यापक सुधारका लागि पहल गर्ने बताएका हुन् । उनका अनुसार अहिलेको आर्थिक तथा औद्योगिक नीति उद्योगमैत्री नभएकै कारण लगानी विस्तार हुन नसकेको र अर्थतन्त्र चलायमान हुन नसकेको अवस्था छ ।

    ‘हाम्रो सबैभन्दा ठूलो समस्या नै नीति हो,’ उनले भने, ‘औद्योगिक नीति सुधार गर्न सक्यौं भने उद्योगमा लगानी बढ्छ, उत्पादन बढ्छ र रोजगारी सिर्जना हुन्छ । मेरो कार्यकालमा वीरगञ्जमा कम्तीमा एक खर्बको लगानी भित्राउने लक्ष्य राखेको छु ।’

    रुंगटाले नीति सुधारमार्फत निजी क्षेत्रको विश्वास पुनःस्थापित गर्न सकिने दाबी गरे । उनका अनुसार उद्योगमैत्री वातावरण बनेमा वीरगञ्जबाट उत्पादित वस्तु निर्यात विस्तार गर्न सकिनेछ र त्यसले राष्ट्रिय अर्थतन्त्रलाई समेत सबल बनाउनेछ । उनले औद्योगिक क्षेत्र सशक्त बने हजारौं युवाले रोजगारी पाउने अवस्था सिर्जना हुने बताए ।

    वीरगञ्जलाई आर्थिक, सामाजिक र राजनीतिक वैभव बोकेको सहरका रूपमा उनले चित्रित गरे । तर पछिल्ला वर्षमा आर्थिक गतिविधि कमजोर बन्दै गएको र जनप्रतिनिधिहरूले अपेक्षित नेतृत्व दिन नसकेको उनको आरोप छ । ‘वीरगञ्ज आर्थिक सहर हो । यहाँ आर्थिक चलायमानता कमजोर हुन दिनु हुँदैन,’ उनले भने, ‘जनता अहिले सुशासन, रोजगारी र विकास खोजिरहेका छन् ।’

    जेन–जी आन्दोलनपछि देशमा परिवर्तनको चाहना अझ बलियो भएको उल्लेख गर्दै रुंगटाले नेपाली कांग्रेसले नेतृत्व परिवर्तनमार्फत देश परिवर्तनको अभियान सुरु गरिसकेको दाबी गरे । उनले नयाँ नेतृत्वप्रति युवाहरूको आकर्षण बढेको र कांग्रेसप्रति पुनः विश्वास जाग्दै गएको बताए ।

    स्थानीय मुद्दालाई पनि उनले प्राथमिकतामा राखेका छन् । विशेष गरी वीरगञ्जमा देखिएको खानेपानी समस्या र हैजाको जोखिमप्रति उनले चिन्ता व्यक्त गरे । उनका अनुसार हरेक वर्ष बोरिङ खनेर समस्या समाधान हुँदैन, दीर्घकालीन र वैज्ञानिक योजना आवश्यक छ । ‘गलत स्थानमा बोरिङ खन्ने र असंगठित संरचना निर्माण गर्ने प्रवृत्तिले समस्या बढाएको छ,’ उनले भने, ‘अब ठोस योजना बनाएर खानेपानी समस्याको स्थायी समाधान खोज्नुपर्छ ।’

    उनले शिक्षा, स्वास्थ्य, नाला व्यवस्थापन र पूर्वाधार सुधारलाई पनि आफ्नो कार्यसूचीमा राखेको बताएका छन् । साथै भ्रष्टाचार अन्त्य र सुशासन स्थापना आफूले प्राथमिकतामा राख्ने उनले स्पष्ट पारे ।

    आफूमाथि पर्सा–१ का मतदाताले विश्वास देखाएको उल्लेख गर्दै रुंगटाले त्यो भरोसा कायम राख्ने प्रतिबद्धता व्यक्त गरे । निर्वाचनको माहोल तातिँदै जाँदा औद्योगिक लगानी, नीति सुधार र सुशासनको मुद्दा पर्सा–१ मा चुनावी बहसको केन्द्र बन्दै गएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij