भक्तपुर । समुदायमै स्वास्थ्य सेवा पुर्याउने र नसर्ने रोगबारे सचेतना बढाउने उद्देश्यले मंगलबार गठ्ठाघरस्थित नवदुर्गा टोलमा बृहत् स्वास्थ्य शिविर सम्पन्न गरिएको छ।

नवदुर्गा टोल विकास समितिको आयोजनामा तथा मध्यपुर थिमी नगरपालिकाको नगर कार्यपालिकाअन्तर्गत जनस्वास्थ्य शाखाको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो। शिविरमा विशेषगरी उच्च रक्तचाप, मधुमेह, मोटोपनजस्ता नसर्ने रोगको स्क्रिनिङ गरी स्थानीयलाई आफ्नो स्वास्थ्य अवस्थाबारे प्रारम्भिक जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ।

यसका साथै शिविरमा निःशुल्क दन्त परीक्षण तथा उपचार सेवा पनि उपलब्ध गराइएको थियो। समाज डेन्टलको प्राविधिक टोलीले प्रदान गरेको सेवाबाट विशेषगरी ज्येष्ठ नागरिक, महिला र बालबालिका लाभान्वित भएका थिए।

कार्यक्रमको संयोजन टोल विकास समितिका अध्यक्ष ओमप्रकाश श्रेष्ठले गरेका थिए। कार्यक्रममा निलबहादुर कार्की, प्रेमबहादुर श्रेष्ठ, मणिराम श्रेष्ठ, विनय स्थापितलगायत स्थानीय सामाजिक व्यक्तित्वहरूको सक्रिय सहयोग रहेको थियो। मध्यपुर थिमी नगरपालिकाका प्रवक्ता तथा वडा नं. ३ का वडाध्यक्ष कृष्णहरी आचार्यको पनि विशेष उपस्थिति रहेको थियो।

शिविरमा २५० भन्दा बढी स्थानीयले स्वास्थ्य परीक्षण गराएका संयोजक श्रेष्ठले जानकारी दिए। घरआँगनमै स्वास्थ्य सेवा पाउँदा आफूहरूलाई सहज भएको स्थानीयले बताएका छन्।

आयोजकले आगामी दिनमा पनि यस्ता स्वास्थ्य प्रवर्द्धन तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
