भक्तपुर । बागमती प्रदेश सरकारले अनलाइनबाटै पटके रुट पर्मिट दिने व्यवस्था गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले आज एक कार्यक्रमका बीच सो सेवाको शुभारम्भ गरेका हुन् । सेवाग्राहीको सहजताका लागि बागमती प्रदेशमा पहिलो पटक अनलाइनबाटै पटके इजाजत पत्र जारी गरिएको हो ।

कार्यक्रमलाई सम्बोधनगर्दै मन्त्री लम्सालले रात बिरात जरूरी परेर बाहिर जानुपर्नेलाई अनलाइन माध्यमबाट पटके रुट इजाजत लिन कार्यले सुविधा मिल्ने बताए । यस्ता नयाँ प्रविधीको प्रयोगले कार्यालयको भिड नियन्त्रण, समयको बचत, राजश्व अनलाइन मार्फतनै प्राप्त हुँदा काममा छिटो छरितो आउनुका साथै दुरुपयोग नहुने मन्त्री लम्सालको भनाई थियो ।
हिजोसम्म पटके रुट इजाजतका लागि कार्यालयले बिहान, बेलुका समेत तीन सिफ्टमा कर्मचारी राखेर सेवा दिनु पर्ने बाध्यता भएपनि आजबाट त्यस्तो बाध्यता हटेको लम्सालले बताए । आफुले मन्त्रालयलेको नेतृत्व लिएपछि नागरिकलाई सुशासन दिन धेरै कुराको सुरूवात गरेको बताउँदै लम्सालले भने, “आगामी एक वर्षभित्रमा यस्तै काम गर्दै प्रदेशको यातायात क्षेत्रलाई प्रबिधि मैत्री बनाउदै लगिने छ ।” हिजोको यातायात कार्यालय र आज कार्यालयमा आकाश पातलको फरक रहेको दावीगर्दै मन्त्री लम्सालले केहि समयपछि कार्यालय जाँदा गर्व गर्ने अवस्था आउने गरि काम गरिहेको बताए ।

संघीय सरकारले सिस्टम बोकेर राखेका कारण सेवाग्राहीले समयमा स्र्माट लाईसेन्स आउँन नसकेको बताउँदै लम्सालले सिस्टम प्रदेशलाई हस्तान्तरण भए आफुहरु तत्कालै लाइसेन्स उपलव्ध गराउन तयार रहेको जानकारी दिए । संघीय सरकार प्रदेशको मर्म अनुसार नचलेको र हातखुट्टा बाँधेर पोखरी पौडी खेल्न जा भनेर पानीमा छोड्ने प्रवृत्तिका कारणले समस्या भएको लम्सालको गुनासो थियो ।
कार्यक्रममा मन्त्रालयका सचिब बलराम निरौलाले नयाँ प्रविधि मार्फत काम हुन थालेपछि दैनिक तीन चरणमा कर्मचारी खटाउने कार्यको अन्त्य भएको बताउँदै समयको सदुपयोगसंगै कार्यालयका काममा हुने बिचौलियाको प्रवेश समेत अव हटर जाने बताए । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक पोशराज पोखरेल बागमती प्रदेशबाट शुरू भएको यो कार्य अन्य सातै प्रदेशमा बिस्तार गर्न सके ट्राफिक व्यवस्थापनमा समेत सहजता हुने बताए । झन्झटिलो व्यवस्थाका कारण पटके कर नतिरी यात्रा गर्दा ट्राफिकले कारबाही गर्नुपर्ने अवस्था रहेको पोखरेलको भनाई छ ।
भक्तपुकी प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठले अब सेवाग्राहीले जुनसुकै समयमा घरमै बसेर काम लिन सकिने हुँदा कार्यालय धाउनु पर्ने बाध्यता हटकेको बताइन् । कार्यक्रममा यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख हरिहर पोख्रेलले स्वागत मन्तव्य राखेका थिए ।