कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र भृकुटीमण्डपमा धमाधम मञ्च निर्माण, ५० हजार सहभागि हुने

कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र भृकुटीमण्डपमा धमाधम मञ्च निर्माण, ५० हजार सहभागि हुने

शुक्रवार, पौष २५ २०८२
शुक्रवार, पौष २५ २०८२
  • कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र भृकुटीमण्डपमा धमाधम मञ्च निर्माण, ५० हजार सहभागि हुने

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ गतेदेखि सुरु हुने भएपछि राजधानी काठमाडौंको भृकुटीमण्डपमा तयारी कार्य तिब्र गतिको साथ अघि बढाइएको छ । मञ्च निर्माणदेखि हल सजावट, ध्वनि–प्रकाश व्यवस्थापन, प्रवेश नियन्त्रण र प्राविधिक संरचना निर्माणका कामहरू एकसाथ तीव्र रूपमा भइरहेको आयोजकले जनाएको छ । 

    आयोजकका अनुसार आजै अथवा भोलि बिहानसम्म सम्पूर्ण भौतिक तयारी सम्पन्न गर्ने लक्ष्यसहित काम अन्तिम चरणमा पुगेको छ । विशेष महाधिवेशनलाई व्यवस्थित, अनुशासित र भव्य रूपमा सम्पन्न गर्ने उद्देश्यले सबै संयन्त्रलाई सक्रिय बनाइएको छ । 

    अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट नजिकै स्थापना गरिएको विशेष महाधिवेशन सचिवालयको प्रत्यक्ष समन्वयमा तयारी अघि बढाइएको छ । सचिवालयमार्फत स्वयंसेवक व्यवस्थापन, सुरक्षा समन्वय, अतिथि सत्कार, प्रचार–प्रसार, मञ्च तथा प्राविधिक व्यवस्थापनजस्ता उपसमितिहरू क्रियाशील छन् । प्रत्येक उपसमितिलाई स्पष्ट कार्ययोजना र समयसीमा तोकिएको महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ । 

    एक हजार स्वयंसेवक परिचालन स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाका अनुसार करिब एक हजार स्वयंसेवक परिचालन गरिनेछ । उनीहरूलाई प्रवेश व्यवस्थापन, प्रतिनिधि सहजीकरण, हल व्यवस्थापन, सूचना प्रवाह तथा आकस्मिक सहयोगका क्षेत्रमा खटाइनेछ । 

    “भृकुटीमण्डपमा मुख्य मञ्च निर्माण सुरु भइसकेको छ । हल सजावट, ब्यानर, पार्टी झन्डा, साउण्ड सिस्टम र बत्ती जडानको काम पनि सँगसँगै भइरहेको छ,” कोइरालाले जानकारी दिए । 

    महामन्त्रीद्वयको सक्रिय नेतृत्व विशेष महाधिवेशन नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रत्यक्ष पहल र संलग्नतामा आह्वान गरिएको हो । पार्टीभित्र विधान कार्यान्वयन, आन्तरिक लोकतन्त्र र नेतृत्वको भूमिकाबारे उठेका प्रश्नहरूको सन्दर्भमा यस विशेष महाधिवेशनलाई निर्णायक मानिएको छ । 

    महाधिवेशन सफल पार्न महामन्त्रीद्वयले विभिन्न समिति र पार्टी नेताहरूसँग निरन्तर समन्वय गरिरहेका छन् । तयारी प्रक्रियामा उनीहरूको सक्रिय उपस्थितिले कार्यकर्तामा उत्साह थपिएको आयोजक पक्षको भनाइ छ । 

    उपत्यकाभर प्रचार–प्रसार तीव्र महाधिवेशनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा स्वागत गेट निर्माण, पार्टी झन्डा राख्ने तथा फ्लेक्स बोर्ड टाँस्ने काम तीव्र पारिएको छ । दर्जनौँ स्थानमा प्रचार सामग्री राखेर महाधिवेशनको सन्देश कार्यकर्ता र आम नागरिकसम्म पु¥याउने तयारी गरिएको छ । 

    प्रतिनिधि सहभागिता र कार्यक्रम संरचना भृकुटीमण्डपमा पुस २७ र २८ गते सञ्चालन हुने विशेष महाधिवेशनमा कुल ४ हजार ७ सय ४३ प्रतिनिधिमध्ये ६० प्रतिशतभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । दुई दिनसम्म चल्ने महाधिवेशनमा उद्घाटन सत्र, बन्द सत्र र घोषणासभा आयोजना गरिनेछ । 

    उद्घाटन सत्रमा महामन्त्रीद्वय थापा र शर्मासहित पार्टीका शीर्ष नेताहरू, प्रभावशाली युवा नेताहरू तथा ‘जेन–जी’ पुस्ताका प्रतिनिधिहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

    जिल्लाबाट कार्यकर्ता काठमाडौंमा महाधिवेशनमा सहभागिताका लागि देशभरका जिल्लाबाट कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरू काठमाडौं आइरहेका छन् । जनपरिचालन समितिका संयोजक जगदीश नरसिंह केसीका अनुसार उद्घाटन सत्रमा मात्रै करिब ५० हजार कार्यकर्ता तथा शुभेच्छुकको सहभागिता हुने अपेक्षा गरिएको छ । 

    “देशभरबाट कार्यकर्ता आउँदैछन् । यो महाधिवेशन पार्टीभित्रका भावना, असन्तुष्टि र अपेक्षा अभिव्यक्त हुने साझा मञ्च बन्नेछ,” केसीले बताए । 

    नेपाली कांग्रेसभित्र विकसित आन्तरिक राजनीतिक परिस्थितिका बीच आयोजना हुन लागेको यो विशेष महाधिवेशनले पार्टीको आगामी दिशा, नेतृत्वको भूमिका र संगठनात्मक संरचनाबारे महत्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij