सिन्धुली । सिन्धुलीमा एक जना युवकको गोली लागेर मृत्यु भएको छ। सुनकोसी गाउँपालिका(५ बन्दिपुरका भिमबहादुर तामाङका छोरा २२ वर्षीय आशमान तामाङको गोली लागेर मृत्यु भएको हो।
मृतक आशमानलाई सोमबार आफ्नो घरभन्दा करिब ३ किमि दक्षिणमा रहेको सिन्धुलीको घ्याङलेख गाउँपालिका १ पिउरी खोलाको जङ्गलमा उत्तानो परी नाईटोबाट रगत बगी मृत अवस्थामा फेला पारिएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको पेटको भागमा गोली लागेको देखिएको छ। घटनास्थलमा मृतकको शव नजिकै एक थान भरुवा बन्दुक बीच भागमा भाँचिएको अवस्थामा फेला परेको र बन्दुक मृतकले भिरेको अवस्थामा रहेको प्रहरीको भनाइ छ।