भक्तपुर । चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापन स्वयंसेवकलाई प्रथम उद्धारकर्ता प्रशिक्षण प्रदान गर्न थालेको छ । नगरपालिकाले वडास्तरीय विपद् व्यवस्थापन समिति अन्तर्गत रहेर विपद्को अवस्थामा तत्काल प्रतिकार्य गर्नको लागि समुदायमै तालिम प्राप्त स्वयंसेवक तयार गर्ने उदेश्यले तीन दिने तालिम दिएको हो ।
चाँगुनारायण नगरपालिका–४, ५ र ६ का स्वयंसेवकका लागि संचालित प्रशिक्षणको उद्घाटन गर्दै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले विपद् उत्थानशील चाँगुनारायण बनाउने उद्धेश्यका साथ नगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्य गर्दै आइरहेको बताए । विपद्को अवस्थामा तत्काल उद्धार गर्ने भनेको समुदायका मानिसनै हुने भएकाले समुदायका मानिसलाई प्राथमिक उपचार, खोज तथा उद्धारका ज्ञान र शिप प्रदान गरी तयारी अवस्थामा राख्नको लागि नगरपालिकाले प्रथम उद्धारकर्ता प्रशिक्षण संचालन गरेको प्र्रमुुख खत्रीको भनाई छ ।
सरकारी र नीजि क्षेत्रको साझेदारी र सहकार्य तथा समुदायको अग्रसरतामा मात्रै विपद् उत्थानशील समुदाय निर्माण गर्न सकिने भएकाले यसतर्फ नगरपालिका लागिपरेको नगर प्रमुख खत्रीले बताए । पछिल्लो समय आगलागी तथा बन डँढेलोका घटना बढिरहेकोबताउँदै नगर प्रमुख खत्रीले यसतर्फ स्थानीय समुदायनै सचेत हुनुपर्नेमा नगर प्रमुख खत्रीले जोड दिए ।
चाँगुनारायण नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिकी सदस्य निर्मला केसीले विपद् जुनसुकै बेलामा आउन सक्ने भएकोले सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारीका गतिविधि संचालन गर्नुपर्ने बताइन । त्यसैको तयारी स्वरुप नगरपालिको समावेशीताको सिद्धान्त अवलम्बन गर्दै प्रत्येक समुदायका सबै वर्गलाई समावेश गरी कार्यक्रमहरु संचालन गरिरहेको केसीको भनाई थियो ।
तालिममा चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापनका क्षेत्रमा गरेका प्रगति र प्रयास, खोज तथा उद्धारको परिचय, खतराको प्रकार र यसका विशेषता, खोज तथा उद्धारको संरचना र टोली निर्माण, खोज तथा उद्धारका उपकरणहरु सुरक्षित र सुरक्षा लगायतक विषयमा प्रशिक्षण दिइएको विपद् बिज्ञ दिनेश कथापाले बताए । थापाका अनुसार, तालिममा आधारभूत खोज विधि, संचार, समन्वय र प्रतिवेदन, आगोजन्य आपत्काल, उद्धारमा डोरीको प्रयोग अभ्यास, बाढी, पहिरो र भूकम्पको अवस्थामा बाहिर निकाल्ने तरिका अभ्यास, प्राथमिक उपचार परिचय, उद्धेश्य र सिद्धान्त, प्राथमिक उपचारका चार चरणहरु, स्वास्प्रश्वास समस्या, रक्तश्राबको प्राथमिक उपचार लगायतका विषयमा समेत ज्ञान दिइएको थियो ।

चाँगुनारायण नगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, विपद् प्रतिकार्य योजना, मनसुन प्रतिकार्य योजना, विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना लगायतका आवश्यक ऐन, नीति, नियम, निर्देशिका, योजनाहरु तयार गर्नुका साथै खुल्ला स्थानको पहिचान, जोखिम क्षेत्रको नक्सांकन गरेको छ । त्यसका अलवा खोज उद्धार सामग्रीको भण्डारण, नगरपालिका तथा वडामा विपद् व्यवस्थापन समितिको गठन, विद्यालय तथा समुदायमा विपद् जोखिम न्यूनीकरण सम्बन्धि अभिमुखिकरण तथा प्रशिक्षण, विपद् जोखिम न्यूनीकरण सम्बन्धि संचारकर्मीहरुसंग कार्यशाला, भूकम्प सुरक्षा दिवस मनाउने लगायतका गतिविधिहरु संचालन गदै आइरहेको छ ।
नगरपालिकाले आइसेट नेपाल र भूकम्प प्रविधि राष्ट्रिय समाजन नेपालसंग सहकार्य गरी समुदाय तथा विद्यालयमा विद्यालय सुरक्षा कार्यक्रम पनि संचालन गरिरहेको छ । यसैगरी नगरपालिकाले स्थानीय विपद् प्रतिकार्यढाँचा तयारी, भूकम्पीय सुरक्षा सम्बन्धि कृत्रिम घटना अभ्यासको संचालन, वडास्तरमा आगलागी नियन्त्रण सम्बन्धि अभिमुखिकरण र अभ्यास प्रदर्शन, सडक सुरक्षा लगायतका गतिविधिहरु पनि संचालन गर्दैछ ।
तीन दिन सम्म संचाल हुने प्रशिक्षणमा १५ महिला र १६ पुरुष गरी ३१ जनाको सहभागिता रहेको छ । चाँगुनारायण नगरपालिकाको तालिम हल हेल्मेट डाँडामा संचालित प्रशिक्षणको संयोजकमा दिनेश थापा तथा प्रशिक्षकहरुमा राजुमार लम्साल, ऋषि खड्का, दिवाकर पौडेल, कविता बुढाथोकी रहेका छन् । सोहि क्रममा यसअघि वडा नं १, २ र ३ का २३ जना स्वयंसेवकहरुलाई प्रशिक्षण दिइएको थियो । आगामि चैत्र १२ देखि १४ सम्म वडा नं ७, ८ र ९ का २४ जना स्वयंसेवकहरुलाई प्रशिक्षण संचालन गरिने नगरपालिकाले जनाएको छ ।