भक्तपुर । प्रत्येक विद्यालय र विद्यार्थीलाई वातावरण संरक्षणसंग जोडेर विद्यालय हुदै घरसम्म वातावरण मैत्री बनाउँन आज मध्यपुरथिमि नगरपालिकाबाट ‘वातावरण मैत्री विद्यालय र विद्यार्थी’ कार्यक्रम अभियानका रुपमा शुभारम्भ भएको छ ।
प्रत्येक साता भक्तपुर जिल्ला सरसफाई र वातावरण संरक्षणको कार्य गर्दै आएको ‘राष्ट्रका लागि २ घण्टा अभियान प्रबद्र्धन केन्द्र, नेपाल’ले आज मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित आस्था महिला विद्यालयबाट अभियानको शुभारम्भ गरेको हो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले तरकारीको बिऊ र बिरुवा रोप्दै शुभारम्भ गरेको अभियानमा आज सातवटा विद्यालयमा एकै साथ सुरु गरेका हुन् । नगर प्रमुख श्रेष्ठले मध्यपुरथिमि नगरपालिकाले प्रत्येक विद्यालयलाई योगमय र वातावरण मैत्री बनाउन नगरपालिकाको कार्यपालिका बैठकबाटै निर्णय पारित गरि लागू गर्ने तयारी गरेको बताए ।।

नगर प्रमुख श्रेष्ठले भने, “विद्यार्थीलाई व्यबहारिक शिक्षा आवश्यक छ, पढाईसंगै संस्कार युक्त शिक्षा आजको आवश्यकता भएकाले नगरपालिकाले निर्णय गरेर नै प्रत्येक शुक्रबार विद्यालयमा मानवीय जीवनसंग सम्बन्धि र व्यबहारिक विषय सिकाउने, योग, ध्यान सिकाउने र वातावरण संरक्षणको शिक्षासंगै विरुवा रोप्ने एवं संरक्षणसम्मको ज्ञान दिने तयारी गरेका छौँ ।”
कार्यक्रममा मध्यपुरथिमि वडा नं. ३ का वडाध्यक्ष एवं आस्था महिला विद्यालयका व्यबस्थापन समितिका अध्यक्ष कृष्णहरि आचार्यले प्रत्येक विद्यालय वातावण मैत्री र प्रत्येक विद्यार्थीलाई वातावरण सफा राख्नु पर्ने चेतना पुर्याउन सके समाज आफै सफा हुने बताए ।

कार्यक्रममा ‘राष्ट्रका लागि २ घण्टा अभियान प्रबद्र्धन केन्द्र, नेपाल’ का अध्यक्ष मधु ढुङ्गेलले प्रत्येक शनिवार बिहान दुई घण्टा सरसफाई र वातावरण संरक्षणको क्षेत्रमा जिल्लाका नगरपालिकाहरुमा उदाहरणीय कार्य गर्दै आएकोमा आजबाट विद्यालयमा अभियान सञ्चालन गरेको बताए । उनले प्रत्येक नगरपालिकासंग समन्वय गर्दै विद्यालय विद्यालयमा विद्याथींसंग जोडेर वातावरण संरक्षणको अभियानलाई तिब्रता दिने बताए ।

अभियानका संयोजक नरेश रजितले नेपालमै पहिलो पटक मध्यपुरथिमिबाट सुरु गरेको वातरवण मैत्री विद्यालय र विद्यार्थी कार्यक्रमलाई देशव्यापी रुपमा सन्देश प्रवाह गर्ने गरि अगाडि बढाउने बताए । अभियानका महासचिव नवराज काफ्लेले आजबाट मध्यपुरथिमि नगरपालिका भित्रका गणेश आधारभुत विद्यालय, मध्यपुरथिमि वडा नं. ३ को आस्था महिला विद्यालय, कौशल्टारको कौशल्टार इङ्लिस सेकेण्डरी स्कूल, चाँगुनारायण नगरपालिका –२ दुवाकोटको मित्रश्री पाठशाला, सूर्यविनायक नगरपालिका–५ कटुन्जेको कटुञ्जे आधारभुत विद्यालय, सोही ठउँको युनिक एकेडेमी सेकेण्डेरी स्कूलमा आजबाट अभियान सुरु भएको जानकारी दिए ।

कार्यक्रममा शिक्षा समन्वय इकाईकी प्रमुख कमला ज्ञवाली, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, कार्यक्रमकी संयोजक उत्तरा नेपाल, शिक्षिका चन्द्रमा श्री, मिना पोखरेललगायतले विद्यालयबाटै वातावरण मैत्री सिकाई एवं संस्कारयक्त सिकाई अगाडि बढाउँदा घरघरसम्म अभियान जोडिने भएकाले प्रभावकारी हुने चर्चा गरे।