काठमाडौँ । रैथाने उत्पादनमा धेरैले फाइदा देख्दैनन् । त्यसमाथि सातै प्रदेशका स्थानीय उत्पादनलाई एउटै बृहत् बजारको आकार दिनु र एकै ठाउँमा देशैभरका मौलिक स्वाद चखाउनु सजिलो पक्कै होइन । सुमन र राधिका दाहालको अथक प्रयासले स्वदेशी वस्तु र स्वादलाई स्थानीय क्षेत्रबाट उठाएर ‘ब्राण्डिङ’ गरिदिएको छ ।
सातै प्रदेशको स्वदेशी उत्पादनको बजार व्यवस्थापन र प्रवर्द्धनले व्यापारमा एउटा आशलाग्दो जग बसाएको छ दाहाल दम्पतीले । उनीहरुले स्थानीय उत्पादनको व्यापारलाई दुई वर्षभित्रै करोडौँको बनाउन सफल भयो भने थुप्रैलाई रोजगारसमेत प्रदान गरेका छन् । मनले आँटे देशमै रुपैयाँ फलाउन सकिन्छ भन्ने कुराको सबल उदाहरण हुन् दाहाल दम्पती ।
काठमाडौँ कपनमा पाँच लाखको लागानीबाट सुरु भएको मौलिक भान्सा तथा मौलिक बजारसहितको व्यापार अहिले १५ करोड पुगिसकेको राधिका दाहाल बताउछन् । उनले सुनाउछन् “व्यवसाय सुरु गर्दा श्रीमान्–श्रीमतीले काम गरेका थियौँ । दुई वर्षमा २५ जनालाई रोजगारी दिन सफल भएका छौँ”, उनले भने, “मौलिक भान्सा र मौलिक बजारबाहेक हर्बल कस्मेटिक, अदुवा–लसुनको पेस्टसहितको उद्योगको राम्रो बजारीकरण सुरु गरेका थियौँ । त्यसको कमाइले व्यवसाय बढाउन सकेका हौँ ।”
सात प्रदेशको स्वाद र उत्पादन
स्वदेशी तथा मौलिक उत्पादनको प्रवद्र्धन तथा बजार व्यवस्थापन गर्न सकिन्छ भन्ने सोच मौलिक बजारका अध्यक्ष सुमन दाहाललाई पाँच वर्ष अगाडि नै आएको थियो । सोही परिकल्पनाको आधारमा उनले ‘मौलिक बजार कपन जाऔँ, मौलिक भान्सामा रमाऔँ, सात प्रदेशको परिकार खाऔँ सात सय ५३ पालिकाको उत्पादन लैजाऔँ’ भन्ने मुख्य उद्देश्य साथ परियोजनाको खाका कोर्नुभएको हो ।
दाहालका अनुसार मौलिक बजारमा प्रत्येक साय सय ५३ पालिकाको नामकरण र एक उत्पादनको ब्राण्डिङ गर्नु यसको उद्देश्य हो । दाहाल भन्नुहुन्छ, “अवधारणा अलि अगाडि बनाए पनि कार्यान्वयन भएको दुई वर्षमात्रै भएको छ । एक स्थानीय तह एक उत्पादनको ब्राण्डिङ गर्ने अवधारणा राख्यौँ । त्यसका लागि सात सय ५३ वटा खण्डहरु बनाएर प्रत्येक स्थानीय तहअनुसारको नामकरण ग¥यौँ र पालिकाहरुलाई आह्वान ग¥यौँ । एउटा पालिकाबाट एउटा उत्पादन ब्राण्डिङ्ग गरेर हामी बिक्रीवितरण गर्छौं भनेर अगाडि बढ्यौँ । अहिले जम्मा तीन सय छ पालिकाको सामान यहाँ उपलब्ध छ । उहाँका अनुसार चाँडै सबै पालिकाबाट स्थानीय उत्पादन ल्याइनेछ ।”
सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–२ घर भएका सुमन दाहालले आयुर्वेद अध्ययन गर्नुभएको छ भने मण्डनदेउपुर–५ काभ्रेकी राधिकाले पत्रकारिता र राजनीतिशास्त्रमा स्नातकोत्तर एवं एलएलबी समेत गर्नुभएको छ । श्रीमानले परिकल्पना गर्नुभएको मौलिक वस्तुलाई बजारीकरण गर्ने र मौलिक स्वाद पस्किने सपनालाई राधिकालाई पनि उचित ल्याग्यो र यसमा दुबै दम्पती सक्रिय हुनुभएको छ । मौलिक भान्सा र बजारको व्यवस्थापनदेखि बजारीकरणको जिम्मा राधिकाले लिनुभएको छ । उहाँ सुनाउनुहुन्छ, ‘‘चुनौतीहरु धेरै छन् । त्यो पार गर्दै धेरै यसमा लाग्नुपर्छ । अहिलेको विश्वव्यापी मन्दीको अवस्थामा उत्पादनमा जानुको विकल्प छैन ।’’
मौलिक परिकारमा बगियादेखि भक्कासम्म
मौलिक भान्सामा सात प्रदेशको विशेष परिकार पाक्दै आएको छ । मौलिक खानाको पारखीहरुको लागि उत्तम गन्तव्य हुनसक्छ मौलिक भान्सा । दाहाल भन्नुहुन्छ, “हामीले सबै प्रदेशको विशेष चर्चित परिकार पस्कँदै आएका छौँ । प्रदेश १ को किनेमा र झ्याउ, तराईको भक्का, मधेश प्रदेशको बगिया र गहुँको रोटी बागमती प्रदेशको नेवारी खाजा सेट र योमरी, गण्डकी प्रदेशको पोखरेली जेठोबुढो चामलको खिर र सेलरोटी लुम्बिीको खिचडी र ढिकरी, कर्णालीको मार्सीको खाना र कसार तथा सुदूरपश्चिमबाट माडा र रोटा आदि परिकारहरु विशेष परिकारमा सामेल छ ।”
उनले भने, “ढिँडो, खिर, चाम्रे, पुवादेखि लिएर स्थानीय मौलिक सबै परिकारलाई हामीले पेय र खाजा, खानका रुपमा पस्किँदै आएका छौँ । बजार व्यवस्थापक राधिकाका अनुसार, मेरो ठाउँको के उत्पादन आयो भनेर खोज्दै आउनेहरुको भीड बढ्दो छ । आफ्नो गाउँघरको उत्पादन पाएपछि खुशी हुनेहरु पनि उत्तिकै हुनुहुन्छ । यसलाई पैसासँग दाँज्न सकिँदैन मौलिक बजार तथा भान्सा घर परियोजनाअन्तर्गत सङ्ग्रहालयसमेत बनाइएको छ । यसभित्र देशैभर उत्पादन हुने एक सय ४० प्रकारका बीउहरु राखिएका छन् । त्यस्तै परम्परागत सीपमा आधारित विभिन्न वस्तुहरु सङ्ग्रहालयभित्र छ । मौलिक भान्साघरले प्रत्येक वर्षको माघ महिनामा व्यञ्जन महोत्सवको आयोजना गर्दै आएको अध्यक्ष सुमन बताउछन्। यसअन्तर्गत यस वर्षको माघ १ गते ८४ व्यञ्जनसहितको मेला आयोजना गरिएको थियो ।
दाहालका अनुसार, स्वदेशी वस्तुको प्रवद्र्धन र विस्तारका लागि हामीले विभिन्न मेला र आयोजनाहरु गर्दै आएका छौँ । यस वर्षको मेलाको परिकल्पनाअनुसार हप्तामा सातै बार, सात प्रदेश, सात विशेष परिकार, सात पंक्षी, सात स्वाद अनि सात संस्कृति तथा सात पहिरनका साथै सातै दिन सांस्कृतिक साँझको अवधारणा राखेर कार्यक्रमसहितको मेला आयोजना गरिएको थियो । यसवर्षका ५२ हप्तामा साप्ताहिक उत्पादन तथा मेला सञ्चालन भइरहेको छ ।
मौलिक उत्पादनहितको परियोजना सात रोपनी जग्गामा सञ्चालित रहेको छ । अध्यक्ष सुमन भन्नुहुन्छ, “बासँघारी रहेको भिरालो जमिनलाई परिस्कृत गरेर अर्गानिक खेतीको सुरुआत ग¥यौँ तर पाँच वर्षअघि लिएको जग्गामा लगातार चार वर्ष राम्रो उत्पादन भएन । तैपनि हामी हतास भएनौँ र निरन्तर खेती गरिरह्यौँ । विस्तारै खेती सप्रिँदै गयो र यस वर्ष राम्रै उब्जनी भएको छ ।”
आयुर्वेदको अध्ययन गर्नुभएका दाहाल हर्बल कस्मेटिक्सको प्रोडक्सनहरुसमेत बजारमा ल्याउनुभएको छ । यसका साथै अदुवा र लसुनको पेस्ट बनाउने उद्योग सञ्चालनमा ल्याएर सुपथ मूल्यमा उपलब्ध गराउँदै आउनुभएको छ ।
प्रशोधनदेखि ब्रण्डिङ र प्याकेजिङसम्म
मौलिक बजारको कम्पाण्डभित्र पाँच वटा प्रोजेक्ट सञ्चालनमा रहेको राधिका बताउनुहुन्छ । मौलिक भान्सामा गाउँगाउँको मौलिक उत्पादनलाई बजारीकरण गर्ने गरिएको छ भने प्रसोधन उद्योगसमेत सञ्चालनमा रहेको छ । यसले हाम्रो उत्पादनको प्रशोधन, ब्रण्डिङ र प्याकेजिङसम्मको काम गर्छ । ‘फ्यामिली प्रोडक्सन हाउस’ भनेर नामकरण गरिएको यस उद्योगले सामानलाई बजारीकरण गर्नु अघिको सबै प्रकृया पूरा गर्छ । यसका साथै पाँच रोपनी जग्गामा सञ्चालन गरिएको अर्गानिक कृषि फार्ममा तरकारी, सागसब्जी उत्पादन गर्नुका साथै पशुपन्छी पालन गरेको बताउनुभयो । राधिका भन्नुहुन्छ, “व्यापारको दृष्टिकोणले व्यवस्थापन गर्न सक्यौँ भने सजिलो हुने रहेछ ।”
मौलिक खानाको स्वाद लिनेहरुले हप्ताका सातै दिन सातै प्रदेशका सांस्कृतिक झाँकी र नृत्यहरुको मजासमेत लिन सक्नेछन् । मौलिक भान्सा घरसँगै बनाइएको सांस्कृतिक हलमा संस्कृतिक कार्यक्रम प्रस्तुत हुने गर्दछ । यहाँ अग्रिम बुकिङ्ग गरेर पनि कार्यक्रमहरु गर्न सकिन्छ । बुकिङ्ग गर्नेले आफ्नै कलाकार ल्याएर पनि कार्यक्रम गर्न सकिने उहाँको भनाइ छ । बस्न खानको लागि कटेजहरुको व्यवस्था गरिएको छ ।
चुनौतीहरु पन्छिँदै जान्छ
मौलिक बजारको बजार व्यवस्थापनको जिम्मेवारी सम्हाल्नु भएकी राधिका भन्नुहुन्छ, “नेपाली उत्पादनहरुलाई विश्वास नगर्ने एउटा चुनौती छ । हामीसँग यति राम्रो कस्मेटिकको उत्पादन छ तर भित्रको वस्तु नहेरेर बाहिरको आकर्षक प्याकेजिङलाई विश्वास गर्ने चलन हटाउन सकिएको छैन । सीमित स्रोत साधनमा हामीले जे उत्पादन दिन खोजिरहेका छौँ त्यो चीन र भारतबाट आएको सामानको प्याकेजिङ जस्तो नदेखिने हुँदा बजारीकरणमा समस्याको सामना गर्नुपरेको छ । यद्यपि हामीले विस्तारै जनमानसको विश्वास जित्ने प्रयास गर्दै आएका छौँ ।” उहाँका अनुसार विस्तारै नेपाली उत्पादनलाई माया गरेर प्रयोग गर्ने क्रम बढ्न थालेको छ । नेपाली पैसा नेपालमै राख्नुपर्छ भन्ने भावना बढ्दैछ ।
प्रविधि र जनशक्तिको समस्या पनि मुख्य चुनौतीका रुपमा रहेको राधिका बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीसँग प्रविधि सिमित छ । मेसिन हामीले भारत र चीनबाटै मगाउनुपर्छ । सामानको प्याकेजिङ र ब्राण्डिङका लागि यहाँ राम्रो मेसिन चलाउन जन्ने मान्छेको अभाव छ । पाइहाले पनि टिकाउन नसक्ने अवस्था छ ।” आर्थिक मन्दीको प्रभावले व्यवसाय सञ्चालन गर्न समस्या भएको उहाँँको भनाइ छ । सिमित स्रोत साधनले काम गर्नुपरेको बताउँदै उहाँ भन्नुहुन्छ, “महिला उद्यमशीलताका लागि राज्यबाट सहुलियत पाएका छैनौँ । धितो नभएसम्म बैंकिङले ऋण दिन पनि मान्दैन । महिला सहुलियत कर्जा, दलित कर्जालायतको छ तर त्यसका लागि पनि अन्त्यमा चाहिने धितो नै रहेछ ।”
यस क्षेत्रमा निकै धेरै सम्भावना रहे पनि स्वदेशी र मौलिक उत्पादनलाई बढावा दिन सरकारले जनचेतना बढाउने उद्देश्य राखेर प्रचारप्रसार नहुँदा बजारीकणको समस्याले उत्पादनमा वृद्धि हुन सकेको छैन, युवाहरुले स्वदेशमै रोजगार नपाउँदा विदेश जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । सरकारले विदेशी केही वस्तुहरुमा कर र भ्याटलाई कडाइ गर्यो भने स्वतःस्वदेशी उत्पादनको माग बढ्ने छ र यसले बजार पाउने उहाँ बताउनुहुन्छ ।