काठमाडौं । अप्टिकल व्यवसायी संघ नेपालले विभिन्न कार्यक्रमको आयोजना गरी प्रथम वार्षिकउत्सव मनाएको छ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठ र काठमाडौँ महानरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष नविन मानन्धरको आतिथ्यतामा संघले शनिबार वार्षिकउत्सव मनाएको हो ।
कार्यक्रममा मातृका आई केयर सेन्टरका सिईओ डा. किशोरराज प्रधान, दृष्टि आई केयर सिस्टमका सिईओ लगायतका अतिथिको उपस्थिति रहेको थियो । उच्च गुणस्तरका उत्पादन तथा सेवाहरूको सहज आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले गत असार अर्थात २०८१ असारमा संघको स्थापना भएको थियो ।
देशभरी छरिएर रहेका अप्टिकल व्यवसायीलाई एक–आपसको सम्बन्ध सुमधुर बढाउन शनिबार काठमाडौँमा प्रथम व्यवसायी भेला कार्यक्रम आयोजना गरिएको संघका उपाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।
उपाध्यक्ष श्रेष्ठका अनुसार, संघ स्थापनाको एक वर्ष पुरा भएको अवसर पारेर मातृका आइसेन्टर र ओपान बीच सम्झौता भएको छ । त्यसैगरी दृष्टि आइकेयर र ओपान बीच तथा इ–सेवासँगको बीमा सम्झौता पत्र र बीमा नीति समेत सम्झौता गरिएको छ ।
अप्टिकल व्यवसायी संघ स्थापना गरेको एक वर्ष पुरा भएको अवसरमा संघले दृष्टि आईकेयर सेन्टरसँगको सहकार्यमा निःशुल्क आँखा तथा कान परीक्षण कार्यक्रमसमेत आयोजना गरिएको थियो ।