भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो तीन वर्षे कार्यकाल पुरा गरेको अवसरमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै हालसम्म गरेका विकास कार्य र उपलब्धिहरू सार्वजनिक गरेको छ। नेपाल पत्रकार महासंघ भक्तपुरको पहलमा नगरकोटमा आयोजित सो कार्यक्रममा जनप्रतिनिधिहरू र विभिन्न सञ्चारमाध्यमका पत्रकारहरू सहभागी थिए ।
कार्यक्रममा सञ्चारकर्मीहरूले विगत तीन वर्षमा नगरपालिकामा देखिएका सकारात्मक परिवर्तनहरू, जनतामा परेको प्रभाव र आगामी दिनका प्राथमिकताबारे सुझाव राखे । जनप्रतिनिधि र कर्मचारीहरूले चाँगुनारायण नगरपालिकाले विकास, सेवा र संरचनागत सुधारका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको दाबी गरे ।
नगर प्रमुख जीवन खत्रीले नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ, वृद्ध सेवा, खेलकुद, विपद् व्यवस्थापन, निःशुल्क रगत वितरण, दिवा खाजा, नगरकोट सडक स्तरोन्नति र भ्रमण वर्ष २०८२ जस्ता कार्यक्रममार्फत चाँगुनारायणलाई नमूना नगरपालिका बनाउन लागिरहेको बताए ।

उनका अनुसार, “पहिलोपटक हामीले नि:शुल्क रगत उपलब्ध गराउने अभ्यास सुरु गर्यौं, जुन देशका अन्य पालिकाले पनि पछ्याएका छन्। दिवा खाजामा हामीले काठमाडौं महानगरपालिकाभन्दा अगाडि रकम वृद्धि गर्यौं । नगरकोट सडकको सुधार दशकौंपछि सम्भव भयो, जुन महत्वपूर्ण सफलता हो ।”
उनले जनताको आवश्यकता अनुसार योजना र सेवा सञ्चालन गरिँदै आएको बताउँदै सामाजिक सञ्जालमा नगरपालिका र जनप्रतिनिधिप्रति देखिएको असन्तोषप्रति दुःख व्यक्त गरे । उनले सञ्चारकर्मीहरूलाई जनचेतना जगाउने, सकारात्मक माहोल निर्माण गर्ने र सूचनाको निगरानी गर्ने भूमिकामा योगदान दिन आग्रह गरे ।
कार्यक्रममा उपप्रमुख रमेश बुढाथोकीले सञ्चारकर्मीसँगको संवादले नगरपालिकाका राम्रा कामहरू जनसम्म फैलाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै पत्रकारहरूलाई पेशागत निष्ठाका साथ समाचार सम्प्रेषण गर्न अनुरोध गरे ।

प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले स्थानीय सरकार जनताको जीवनसँग प्रत्यक्ष जोडिएको प्रणाली भएकाले जनअपेक्षा स्वाभाविक भएको बताए । उनले ती अपेक्षालाई ध्यानमा राखेर योजना बनाइरहेको जानकारी गराए ।
नगर प्रवक्ता जनक खत्री, वडा अध्यक्ष धनबहादुर लामा, वडा सदस्य श्यामकाजी नायजु तथा अन्य कर्मचारीहरूको सहभागितामा सम्पन्न कार्यक्रममा अधिकृत सुरज पौडेलले चित्रसहित नगरपालिकाको विकास कार्यको विवरण प्रस्तुत गरे ।

नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले सञ्चारकर्मीहरूले निष्पक्ष र तथ्यमा आधारित पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै नगरपालिका र जनप्रतिनिधिका कामकारबाहीलाई सकारात्मक रूपमा लेख्नुपर्ने बताए ।
महासंघका सहसचिव एवम् कार्यक्रम संयोजक हरिसुन्दर छुकांले पत्रकारिता सत्यतथ्यमा आधारित हुनुपर्नेमा जोड दिंदै सञ्चारकर्मीहरूलाई सरकारको निगरानीकर्ता (वाचडग) को भूमिकामा रहेर काम गर्न आग्रह गरे ।
कार्यक्रममा उपाध्यक्ष हेमराज ढकालले स्वागत मन्तव्य दिएका थिए भने सञ्चारकर्मी कृष्ण प्रजापति, कृष्ण किसी, अञ्जिर बिक, लोकेन्द्र चिदाकास, मणिराम लामिछाने, रावण कार्की, पेशल आचार्यलगायतले आफ्ना धारणा र सुझावहरू राखेका थिए ।
