पूर्ण क्षमतामा लमजुङका आयोजनाबाट विद्युत् उत्पादन

पूर्ण क्षमतामा लमजुङका आयोजनाबाट विद्युत् उत्पादन

मंगलवार, आषाढ १७ २०८२
मंगलवार, आषाढ १७ २०८२
  • पूर्ण क्षमतामा लमजुङका आयोजनाबाट विद्युत् उत्पादन
    लमजुङ । हिउँदको समयमा घटेको विद्युत् उत्पादन वर्षा लागेपछि लमजुङमा उत्पादन थालेका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको छ । 
     
    यहाँ मस्र्याङ्दी नदी, दोर्दी, मिदिम, खुदी, स्याँगेलगायतका खोलामा पर्याप्त पानी हुन थालेसँगै केही हप्ताअघिदेखि उत्पादन थालेका जिल्लाका १७ आयोजनामा पूर्ण रुपमा बिजुली उत्पादन भएको हो । गत मङ्सिरबाट घटेको विद्युत् उत्पादन यतिबेला पूर्ण क्षमतामा उत्पादन भएको हो । 
     
    जिल्लामा उत्पादन थालेको सबैभन्दा ठूलो बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्य–मस्र्याङ्दी जलविद्युत् आयोजनामा गत मङ्सिरको सुरुआतदेखि नै विद्युत् उत्पादन घटेर यस आयोजनाको विद्युत् २४  मेगावाट मात्र उत्पादन हुने गरेको थियो । यतिबेला भने मस्र्याङ्दी नदीमा पर्याप्त पानी भएकाले ७० मेगावाट नै बिजुली उत्पादन भइरहेको मध्य–मस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रका प्रमुख पवन बस्नेतले बताए । 
     
    गत वर्षको तुलनामा केही ढिलो गरी विद्युत् उत्पादन बढेको उनको भनाइ छ । मध्य–मस्र्याङ्दी आयोजना सन् २००८ मा निर्माणसम्पन्न भएको हो । उक्त आयोजना रु २७ अर्ब २० करोडको लागतमा निर्माणसम्पन्न भएको थियो । यो जलविद्युत् आयोजना जिल्लाकै पहिलो जलविद्युत् आयोजना हो । 
     
    यसपछि जिल्लामा क्रमशः आयोजना निर्माण हुँदै बिजुली उत्पादन हुन थालेको छ । सो आयोजनापछि मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले बिजुली उत्पादन थाल्यो । यस आयोजनामा पनि हिउँदमा बिजुली उत्पादन घटेर २५ मेगावाट मात्र उत्पादन भएकामा अहिले नदीमा पानी पर्याप्त भएसँगै पूर्ण क्षमतामा उत्पादन भइरहेको आयोजनाका इन्जिनियर कर्ण अधिकारीले बताए । उनले भने, “यस वर्ष उत्पादन घट्दा २५ मेगावाटको एउटा टरवाइन मात्र चलाएका थियौँ, अहिले दुईवटा चलाएका छौँ ।” यहाँ मात्र होइन यतिबेला नेपालभरिकै आयोजनाबाट बिजुली पूर्ण क्षमतामा उत्पादन हुने गरेको उनले बताए । 
     
    त्यसैगरी, दोर्दी कोरिडोरमा रहेको पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरेको दोर्दी–६ ढोडेनीस्थित ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाबाट पनि विद्युत् उत्पादन बढेको छ । हिउँमा बिजुली उत्पादन घटेर १३÷१४ मेगावाट मात्र बिजुली उत्पादन भएकामा हाल पूर्ण रुपमा बिजुली उत्पादन भइरहेको आयोजनाले जनाएको छ । 
     
    त्यसैगरी, ३० मेगावाटको ङादी जलविद्युत् आयोजना, दोर्दी कोरिडोरमा रहेको हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले निर्माण गरेको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत्, दोर्दी–६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरले निर्माण गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना, चार दशमलव चार मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु तथा दुई मेगावाटको छ्याङ्दी आयोजनाबाट बिजुली पूरै क्षमतामा उत्पादन भएको छ । जिल्लामा उत्पादित विभिन्न आयोजनाबाट ३०० मेगावाट बिजुली उत्पादन भएको बताइएको छ । जिल्लाका आयोजनामा बिजुली घट्दा र बढ्दा राष्ट्रलाई नै आर्थिक रुपमा प्रभाव पार्छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij