भक्तपुर । भक्तपुरस्थित केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा महाशिवरात्रिका लागि आएका साधुसन्तलाई दक्षिणासहित बिदाई गरिएको छ । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले नेपाल र भारतबाट आएका १७० जना साधुसन्त र एवं नागाबाबालाई दान दक्षिणा, धोति, कम्बल र झोलासहित बिदाई गरेको हो ।

समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुसार, साधुसन्तलाई दुुई वर्गमा बिभाजन गरी दक्षिणा दिएर बिदाई गरिएको हो । त्यस क्रममा ‘क’ वर्गका १३० जना साधुसन्तहरुलाई जनही एक हजार दुई सय पाँच रुपैया नगदका साथै धोती, कम्बल र झोला दिइएकोअध्यक्ष बस्नेतले बताए । त्यसैगरी ‘ख’ वर्गका ४० जना साधुसन्त एवं बाबाहरुलाई आठ सय पाँच रुपैया नगदका साथै धोती, कम्बल र झोला दिएर बिदाई गरिएको थियो ।

महाशिवरात्रिका लागि एक साता अघिदेखि डोलेश्वर मन्दिर आएका साधुसन्त र बाबाहरुलाई मन्दिर परिसरमै खाने, बस्ने र धुनी जगाउने व्यवस्था गरिएको थियो । अध्यक्ष बस्नेतका अनुसार, महाशिवरात्रिका दिन डोलेश्वर मन्दिरमा ६० हजारबढी दर्शनार्थीले दर्शन गरेका थिए ।
