भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नङ्खेलमा सोमबार “हाम्रो वडा, हाम्रो आवाज” नारासहित वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्था, पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। कार्यक्रम राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजनामा, नगरपालिका सहकार्यमा गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष भगवान खत्रीले पछिल्लो आर्थिक वर्षमा वडा भित्र भएका खानेपानी, ढल, सडक तथा सार्वजनिक भवनजस्ता पूर्वाधार विकासका उपलब्धिहरूको चर्चा गरे। उनले सेवा प्रवाहमा पारदर्शिता र सहजता सुनिश्चित गर्न वडा कार्यालय प्रतिबद्ध रहेको बताए।

वडा सचिव अच्युतम खत्रीले आर्थिक वर्ष २०८१/८२ को सेवाप्रवाह र राजस्व संकलनसम्बन्धी विवरण प्रस्तुत गरे। उनका अनुसार ३१२५ सिफारिस दर्ता, २६९३ चलानी, २० लाख ७६ हजार सम्पत्ति कर र ४१ लाख ९० हजार विविध कर संकलन गरिएको छ। साथै जन्म, मृत्यु, विवाह, बसाइँसराइजस्ता विवरण दर्ता नियमित रुपमा भइरहेको जनाए।
कार्यक्रमको खुला सत्रमा आठ जनाले वडाका जनप्रतिनिधिहरू समक्ष प्रश्न र सुझाव राखेका थिए। नगरपालिकाका वरिष्ठ इन्जिनियर जनक न्यौपानेले वडाभित्रका निर्माणाधीन तथा सम्पन्न योजनाबारे जानकारी दिँदै प्राविधिक समन्वयका चुनौती समाधान गर्दै अघि बढिरहेको बताए।

वडा सदस्य शेरकाजी सुवालले विकास मात्र नभई सेवा प्रवाह र सुशासनप्रति पनि वडा गम्भीर रहेको बताए। जनताको सक्रियता र सुझावले काम गर्ने ऊर्जा प्राप्त हुने उनले बताए। कार्यक्रममा वडाका अन्य सदस्य पूजा बराह, गंगा खड्का, विनय महत, सुनिल भुजेललगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष पेशल आचार्यले धन्यवाद दिँदै सार्वजनिक सुनुवाई नागरिक उत्तरदायित्वप्रति जनप्रतिनिधिको प्रतिबद्धता प्रमाणित गर्ने अवसर भएको बताए।
त्यस्तै राष्ट्रिय सञ्चार केन्द्रका उपाध्यक्ष तथा पत्रकार महासंघ भक्तपुरका पूर्व अध्यक्ष पुष्करराज बुढाथोकीले सहभागीलाई स्वागत गरे भने वरिष्ठ पत्रकार दिवस गुरागाईंले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारे।

यस सार्वजनिक सुनुवाईले स्थानीय सरकार सेवा, विकास र सुशासनप्रति कति जिम्मेवार र जवाफदेही छ भन्ने प्रश्नमा प्रकाश पारेको छ। जनताको निगरानी र सुझावमार्फत लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने सन्देश कार्यक्रमले दिएको छ। यसअघि आइतबार वडा नं ४ मा पनि यस्तै सुनुवाई सम्पन्न भएको थियो।
