भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुरको रजत वर्ष २०८१।०८२ को अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम समापन समारोह सम्पन्न भएको छ । संघीय सांसद दुर्लभ थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सांसद थापाले यस शुभकामना साकोसले आफ्ना शेयरसदस्यहरुलाई दिइरहेको सेवा अरु सहकारीको तुलनामा उदाहरणीय रहेको बताए ।
उनले यस साकोसले सरकारले ल्याएको नीति तथा ऐन कानुनअन्तर्गत रहेर दिइरहेको सेवा आगामी दिनमा पनि घरेलु, व्यवसायिक र शैक्षिकहितको लागि उपलब्धिमुलुक रहोस् भनी शुभकामना व्यक्त गरे । कार्यक्रममा बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठले शुभकामना साकोसले आफ्नो रजतवर्ष अन्तर्गत सामाजिक र शैक्षिक क्षेत्रमा सहकारीको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको जानकारी यस सप्ताहव्यापी कार्यक्रमले गराएको बताए ।
कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले शुभकामना बचत तथा ऋण सहकारी संस्था लि।ले आफ्ना शेयरसदस्यहरुमाझ सामाजिक, शैक्षिक एवं व्यवसायिक रुपले साथ र सहयोगमा जुन विश्वास कायम राख्न सफल हुनभएको छ यो अरु सहकारीहरुलाई एउटा सिक र उदाहरणको विषय रहेको बताए ।
उनले हाल सहकारीहरुमा देखिएका समस्याबारे चर्चा गर्दै भक्तपुरमा नागरिक र समाजमा सहकारी शिक्षामा बढी सचेत भएको र जिल्ला बचत संघको अभिभावकीय भूमिकाका कारण भक्तपुरका स्थानीय सहकारीहरुमा अरु सहकारीको तुलनामा त्यति समस्या नदेखिएको पनि जानकारी दिए । कार्यक्रममा शुभकामना बचत तथा ऋण सहकारी संस्था लि।का अध्यक्ष रामप्रसाद कासुलाले यस रजत वर्षमा गरेका हरेक कार्यक्रममा आफ्ना संचालक, पदाधिकारी, कर्मचारी र शेयरसदस्यहरुले दिनुभएको साथसहयोगको लागि आभार व्यक्त गर्दै यस सहकारीले सदैव सहकारीको ऐनअन्तर्गत रहेर सेवा दिने पनि प्रतिबद्धता जनाए ।
कार्यक्रममा जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष ध्रुबबहादुर रायमाझी, भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूलगायतले पनि जिल्लाका सहकारीहरुको अवस्थाबारे चर्चा गरेको थियो भने राष्ट्रिय सहकारी बैंकका सञ्चालक ध्रुबराज विष्ट, प्रोस्कुन बागमतीका महासचिव गोविन्द काफ्लेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा सम्पूर्ण व्यक्तित्वहरुलाई संस्थाकी उपाध्यक्ष एवं रजत वर्ष व्यवस्थापन उपसमितिका संयोजक निर्मला सुवालले स्वागत मन्तव्यसहित स्वागत गरे ।
उक्त समारोहमा रजत वर्ष स्मारिकाको पनि विमोचन गरिएको थियो। त्यस्तै कार्यक्रममा रजत वर्षको अवसरमा आयोजित बाँंसुरी बाजाका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र, ब्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र र निबन्ध प्रतियोगिताबाट उत्कृष्ट हुनसफल भाइबहिनीहरुलाई नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो। साथै दश जना असल ऋणीहरुलाई पनि सम्मान गरिएको थियो ।