चाँगुनारायण नगरपालिकाकै लगानीमा भक्तपुर–नगरकोट सडक स्तरोन्नति शुरु

चाँगुनारायण नगरपालिकाकै लगानीमा भक्तपुर–नगरकोट सडक स्तरोन्नति शुरु

आइतवार, जेठ १८ २०८२
आइतवार, जेठ १८ २०८२
  • चाँगुनारायण नगरपालिकाकै लगानीमा भक्तपुर–नगरकोट सडक स्तरोन्नति शुरु

    भक्तपुर । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य मार्ग भक्तपुर–नगरकोट सडक पुनर्निर्माण एवं स्तरोन्नति सुरु गरिएको छ । गत वैशाखदेखि चाँगुनारायण नगरपालिकाले सुरु गरेको नगरकोट भ्रमण वर्ष–२०८२ लाई लक्षित गर्दै नगरपालिकाले आफ्नो आन्तरिक स्रोतबाट सडक स्तरोन्नति कार्य सुरु गरेको हो । 

    नगरपालिकाले सडक निर्माणका लागि भक्तपुर नगरकोटसम्मको १५ किलोमिटर सडकखण्ड स्तरोन्नति आन्तरिक स्रोतबाट गर्नेगरी १७ करोडमा ठेक्का सम्झौता गरी स्तरोन्नति सुरु गरेको हो ।एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग २०७३ असार ३ गतेसम्म सम्पन्न गर्नेगरी २०७१ जेठ २२ गते शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त निर्माण गर्नेगरी २७ करोडमा सडक पुनः निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो । 

    सम्झौता गरेको ११ वर्षमा १०औँ पटक म्याद थप गरेर लागत बढाउँदै ३१ करोड पुर्याउँदा पनि निर्माण व्यवसायीले विभिन्न बाहना गर्दै सडक निर्माण सम्पन्न नगरेपछि गत पुस अन्तिम साता सडक सुधार तथा विकास परियोजना निर्देशनालयले सो सडकको ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।चाँगुनारायण नगरपालिकाले २०८२ लाई नगरकोट भ्रमण वर्ष घोषणा गरेको अवस्थामा मुख्य सडक नै अलपत्र अवस्थामा भएकाले पुनःनिर्माण कार्य अघि बढाइएको नगरप्रमुख खत्रीले बताए । 

    सरकारले लगाएको ठेक्का ११ वर्षसम्म पूरा नभएर सडक अलपत्र पारेको पीडा जनताले धेरै भोगेकाले यो सडकलाई पूरा गर्न भक्तपुर– नगरकोट सडकको स्तरोन्नति आवश्यक रहेको नगरप्रमुख खत्रीको भनाई छ । संघीय सरकारले बजेट नभएका कारण यो वर्ष सडक पुनः स्तरोन्नति गर्न नसक्ने जनाएपछि भ्रमण वर्षलाई लक्षित गरी नगरपालिका आफैँले कालोपत्र गर्न लागेको नगरप्रमुख खत्रीले बताए।

    सम्बन्धित मन्त्रालय र सडक विभागसँग छलफल गरेरै काम थालनी गरेको बताउँदै नगर प्रमुख खत्रीले नगरकोट आउने पर्यटकलाई सहज हुनेगरी खाल्डो पुर्ने र सडकको स्तरोन्नति गरेर कालोपत्र गर्ने काम धमाधम भइरहेको जानकारी दिए । सडकको पेटी बनाउने, ड्रेन बनाउने र बाँकी अरु काम केन्द्रीय सरकारले गर्नेगरी छलफल भएका कारण सोहि अनुसार कालोपत्रका लागि ठेक्का सम्झौता गरेको प्रमुख खत्रीले बताए । 

    शैलुङ्ग कन्स्ट्रक्सनले अलपत्र छाडेको सडकमा नगरपालिकाले नगरकोटतर्फबाट सडकको लेबल मिलाएर ग्रावेल हाल्दै बेस मिलाउने र त्यसमाथि आसप्लान्ट कालोपत्र गर्ने काम एक महिनाभित्र सक्ने नगर प्रमुख खत्री बताउँछन् । त्यसैबीच बागमती प्रदेश सरकारको ५९ करोडको लागतमा भक्तपुर नगरपालिकाको डेकाचादेखि चाँगुनारायण हुँदै काठमाडौँको साँखुसम्म पुग्ने नौ किलोमिटर सडक कालोपत्र सुरु भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij