भक्तपुर । सूर्यविनायक नगरपालिकाले वडा नं. ७ गुण्डुका ३१५ किसानलाई सयपत्री फुलको बेर्ना वितरण गरेको छ । नगरपालिकाले चालूआर्थिक वर्ष २०८१र०८२ अन्तर्गतको पुष्पखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत फूलको बेर्ना वितरण गरेको हो ।

नगरपालिकाको वडा नं. ७ को आयोजना र सानाकिसान कृषि सहकारी संस्था, गुण्डूको सहकार्यमा आज बिहान ७ बजे रणवम पाटी परिसरमा कार्यक्रम आयोजना गर्दै किसानलाई फूलको बेर्ना वितरण गरिएको हो । किसानहरूको लागत साझेदारीमा तयार गरिएको ६९,००० वटा सयपत्री फुलको बेर्ना यस अवसरमा ३१५ जना कृषकहरूलाई वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व उद्योगमन्त्री महेश बस्नेतले नगरपालिकाले जनताको आयस्तर उकास्नका लागि कृषि क्षेत्रमा लगानी गर्दै आएको बताएका थिए । उनले कृषि उद्यमीहरूलाई सरकारबाट कृषि उपकरण तथा रासायनिक मलमा अनुदान उपलब्ध गराइएको जानकारी पनि दिए ।

त्यसैगरी नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिनाले मानवीय विकासमा नगरपालिका गम्भीरतापूर्वक क्रियाशील रहेको उल्लेख गर्दै यस्तो कार्यक्रमले आत्मनिर्भर कृषि प्रणाली विकासमा टेवा पुर्याउने बताइन् ।
नगरपालिकाका प्रवक्ता एवं ७ नं वडाका वडाध्यक्ष रविन्द्र सापकोटाले सूर्यविनायकलाई सबैभन्दा उ्रत्कृष्ठ नगरपालिका बनाउने हिसाबले अगाडि बढेको बताए । विकास निर्माण र समृद्धिको पाटोमा प्रगति गरिरहेका कारण धेरै मानिसहरु बसाइँ सरेर आउने गरेको उनले बताए । त्यति हुँदै गर्दा पनि व्यक्तित्व विकास, रोजगारीमा खासै केही गर्न नसकेका कारण आत्मनिर्भरतातर्फ अग्रसर गराउनका लागि फूलको बेर्ना वितरण गरिएको उनले बताए ।

कार्यक्रममा सहभागी किसानहरूले यस्ता योजनाले उनीहरूको व्यावसायिक कृषि अभ्यासमा सहयोग पुगेको प्रतिक्रिया दिएका छन् ।