भक्तपुर । चाँगुनारायण नगरपालिकाले विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना बनाउँने भएको छ । त्यसै सिलसिलामा सुझाव लिने उदेश्यले नगरपालिकाले स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजनामा सुझाब संकलनको लागि कार्यशाला सम्पन्न गरेको छ ।
नगरपालिकाको समन्वय तथा गैह्र सरकारी संस्था महासंघ चाँगुनारायण नगर समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा चाँगुनारायण नगरपालिकाका कार्यपालिका सदस्य निर्मला केसी, कार्यदलका सदस्य प्रदिप कुमार केसीको सहभागिता रहेको थियो । त्यसैगरी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अनुप लामिछाने, गैसस महासंघ चाँगुनारायण नगर समन्वय समतिका संयोजक मनिषा कार्की, नगरपालिका क्षेत्र भित्रका विभिन्न गैह्र सरकारी संघसंस्थाका प्रतिनिधिहरु गरी ३१ जनाको उपस्थिति रहेकोे थियो ।
चाँगुनारायण नगरपालिकाको नवनिर्मित प्रशासकिय भवनको हलमा सम्पन्न कार्यशालामा प्राकृतिक तथा गैह्र प्राकृतिक बिपदबाट जीवन तथा सम्पत्ति तथा उत्पादनका साधनहरू, भौतिक एवं सामाजिक पूर्वाधार, सांस्कृतिक एवं वातावरणीय सम्पदामा हुने क्षतिको उल्लेख्य रूपमा न्यूनीकरण गर्न विभिन्न रणनीतिक क्रियाकलापहरूको पहिचान गरिएकोे छ । कार्यशालाले आवधिक तथा वार्षिक योजना तर्जुमा गरी कार्यान्वयन गर्दै विपद् जोखिम रोकथाम, पूर्वतयारी, प्रतिकार्य एवं पुुनःस्थापना तथा पुनर्निर्माणको सुदृढीकरण र उत्थानशीलता अभिबृद्धि गर्ने गरी योजना बनाउँन सुझाएको छ ।
कार्यशालाका सहभागीहरुलाई समुह विभाजन गरी विभिन्न ४ वटा प्राथमिकता प्राप्त क्षेत्रहरुमा बिभाजन गरी सम्भावित रणनीतिक क्रियाकलापहरू संकलन गरिएको थियो । प्राथमिकता प्राप्त क्षेत्रहरुमा क्रमशः विपद् जोखिम बारे बुझाई, स्थानीय तहमा विपद् जोखिम शासकीय पद्धतिको सुदृढीकरण, विपद् जोखिम न्यूनीकरणका लागि उत्थानशीलता वृद्धि गर्न बृहत्तर जोखिम जानकारीमा आधारित निजी तथा सार्वजनिक लगानी प्रवर्धन र प्रभावकारी विपद् प्रतिकार्य र पुनर्लाभ, पुनः स्थापना तथा पुनः निर्माणमा अझ राम्रो र बलियो निर्माणका लागि विपद् पूर्व तयारीको सुदृढीकरण रहेका थिए ।
कार्यशाला समापनका अवसरमा चाँगुनारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बीर बहादुर खड्काले सुझाव लिखित रुपमा प्रस्तुतिकरण गर्नु भएकोमा सहभागिलाई धन्यवाद दिदै महत्वपूर्ण सुझाबहरुलाई विपद् जोखिम रणनीतिक कार्ययोजना तयारी कार्यदलले योजनामा समावेश गर्ने बचन दिए ।
विपद् उत्थानशील नगरपालिका बनाउने तर्फ चाँगुनारायण नगरपालिका अग्रसर भइ कार्य गरिरहेकोले सबैको सामुहिक प्रयासबाट मात्रै उत्थानशील नगरपालिका बनाउन सकिने भएकाले नगरपालिकाको नेतृत्वमा संचालित कार्यक्रम तथा गतिविधिहरुमा सबैले हातेमालो गर्नुपर्ने खड्काको भनाई थियो । कार्यशालामामा चाँगुनारायण नगरपालिकाका विपद् विज्ञ एवं परामर्शदाता दिनेश थापा, प्रशिक्षकहरु राजकुमार लम्साल, दिवाकर पौडेलले सहजीकरण गरेका थिए ।