डोलेश्वरसहित भक्तपुरका शिवालयमा दर्शनार्थीको घुइँचो

डोलेश्वरसहित भक्तपुरका शिवालयमा दर्शनार्थीको घुइँचो

शुक्रवार, फाल्गुण २५ २०८०
शुक्रवार, फाल्गुण २५ २०८०
  • डोलेश्वरसहित भक्तपुरका शिवालयमा दर्शनार्थीको घुइँचो
    भक्तपुर । आज महाशिवरात्रि पर्वका अवसरमा मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनीस्थित सङ्गमेश्वर महादेव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । महाविशरात्रि पर्वका अवसरमा आज बिहानैदेखि उक्त मन्दिरमा पूजा सुरु भएको र यहाँ दर्शनार्थीको घुइँचो लागेको सङ्गमेश्वर महादेव मन्दिर संरक्षण तथा विकास संस्थाका अध्यक्ष मोहनवीरसिंह प्रधानले बताए।
     
    उनले मध्यपुरथिमि क्षेत्रमा बसोबास गर्ने स्थानीयसहित बसाइँसराई गरेर आएका देशभरका हिन्दू धर्मावलम्बीलाई दर्शन एवं पूजा गर्ने वातावरण निर्माण गरिएको पनि उनले जानकारी दिए ।  समितिका पदाधिकारी एवं सदस्यले बिहानैदेखि पूजाआजा र दर्शनको व्यवस्थापन गरेका छन् । मन्दिरमा दिनभर हवन तथा पूजा भएको छ भने भारतबाट आएका एक हनार आठ सत्यदेबजी महाराजद्वारा प्रवचन हुने जानकारी पनि दिइएको छ ।  
     
    त्यसैगरी भक्तपुरका प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर, आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको भीड लागेको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आज शिवरात्रिका दिन मन्दिरको चारैवटा ढोका खुल्ला गरिएको छ । डोलेश्वर महादेव मन्दिरमा आज दर्शनार्थीको बिहान ४ बजेदेखि नै घुइँचो लागेको र दर्शनार्थीले चारै वटा ढोकाबाट प्रवेश गरेर आफैँले पूजा गर्ने व्यवस्था गरिएको मन्दिर विकास तथा संरक्षण समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए । 
    rt.jpg
     
    मध्यराति मन्दिरमा विशेष पूजा सम्पन्न गरेपछि बिहान ४ बजेदेखि दर्शनार्थीको आगमन भएको जानकारी दिँदै उनले बिहानैदेखि लामबद्ध दर्शनार्थीका लागि सहज पूजा एवं दर्शन गर्ने व्यवस्था गरिएको बताए । डोलेश्वरमा अरु दिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि आज दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर भक्तजन आफैँले पूजा एवं दर्शन गर्न पाएका छन् । उनले राति ७ बजेसम्म मन्दिरमा ५० हजारभन्दा बढी दर्शनार्थीको आगमन हुने अपेक्षा गरिएको जानकारी दिए । 
     
    आज रातभर जाग्राम बसी धुनी जगाउने व्यवस्था गरिएको छ । नागा बाबासहित तीन सयभन्दा बढी साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउने व्यवस्था गरिएको छ । मन्दिरमा आउने भक्तजनलाई निःशुल्क भोजन तथा प्रसादीको व्यवस्था गरिएको छ । दर्शनार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भक्तपुर अस्पताल र सूर्यविनायक नगर अस्पतालले स्वास्थ्य शिविरको व्यवस्था पनि गरेका छन् । 
     
    यता सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको घुइँचो छ । त्यस्तै सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव, सोमलिङ्गेश्वर महादेव, चरखण्डीश्वर महादेव, वडा नं ५ स्थित अनन्तलिङ्गेश्वर महादेव, सुवर्णेश्वर महादेव, वडा नं १० चित्तपोल साँगास्थित अग्लो महादेवका रुपमा परिचित कैलाशनाथ महादेव, चित्तपोलकै लटरम्बेश्वर महादेव, भक्तपुरको दत्तात्रय मन्दिर, यातु महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij