भक्तपुर । ट्राफिक प्रहरी परिसर भक्तपुरमा सूर्यविनायक नगरपालिकाले निर्माण गरिदिएको महानगरीय ‘ट्राफिक सचेतना कक्ष’को उदघाटन गरिएको छ । आठ लाखको लागतमा सूर्यविनायक–६ ट्राफिक प्रहरी परिसरमा निर्माण भएको सचेतना कक्षको नयाँ भवनको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बिहिवार उद्घाटन गरे ।
भक्तपुरदेखि काभ्रेसम्मका चालकलाई काठमाडौसम्म जानु नपर्ने गरि २०८० साल असार ३ गतेदेखि भक्तपुरमै सुरु भएको ट्राफिक समेतना कक्षा २२ महिनासम्म टेण्टमा सञ्चालन हुदै आएको थियो । वर्षामा पानी चुहिने, गर्मीयाममा गर्मी र जाँडो याममा चिसोले समस्या हुदै आएकोमा नगरपालिकाले नयाँ भवन निर्माण गरिदिएपछि कक्षा सञ्चालनमा सहज हुने भएको छ ।

ट्राफिक कार्यालयबाट सचेतना कक्ष निर्माणका लागि बजेट माग भएको दुई महिनामै बजेट व्यवस्थापन गरेर एक कोठे भवन निर्माण गर्न सफल भएको बताउँदै नगर प्रमुख थापाले भने, “ट्राफिक सचेतना कक्षा लिन अव घामपानीको सकस खेप्नुपर्ने बाध्यता हटेर गएको छ । जनतासंग प्रत्यक्ष जोडिएका यस्ता कार्यालयहरुमा नगरपालिकाले सहयोग गर्दै आएको छ ।”
नगर प्रमुख थापाका अनुसार, ट्राफिक प्रहरीलाई सचेतना कक्ष निर्माण, नापी कार्यालयलाई नक्सा डिजिटलाइजेन गरि व्यवस्थित गर्न, मालपोल कार्यालयलाई फाइल व्यवस्थापन गर्न, प्रहरी परिसर भक्तपुरलगायत बिभिन्न बिभिन्न सरकारी निकायलाई समेत नगरपालिकाले यथासक्य सहयोग गर्दै आएका छौँ । ट्राफिक सचेतना कक्षाले दुर्घटना न्यूनिकरणमा ठूलो टेवा पुग्ने बताउदै नगर प्रमुख थापाले ट्राफिक नियम मिच्नेलाई नेतादेखि कर्मचारीसम्मका भनसुनका आधारमा कारबाही र कक्षा नलिई छाड्ने काम गरे दुर्घटना अझै बढ्ने भएकाले भनसुन प्रथाको अन्त्य गर्न आग्रह गरे ।
सूर्यविनायक नगरपालिका–६ का वडाध्यक्ष ईश्वर खड्काले पानी पर्दा टेण्डभित्र कक्षा लिन निकै समस्या भएको र डरलाग्दो अबस्था देखेरनै नगरपालिकाले भवन निर्माणका लागि रकम सहयोग गरेको बताए । ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले टेण्टभित्र सचेतना कक्षा लिन पानी पर्दा, घाम चर्किदा र जाडोमा निकै समस्या पर्दै आएकोमा नगरपालिकाको सहयोगमा भवन बन्दा काममा प्रभावकारीता आउँने बताए ।

प्रमुख खत्रीका अनुसार, सो कार्यालयबाट दैनिक बिहान ९ बजेदेखि २ बजेसम्म १०० देखि १५० जनाले कक्षा लिने गरेका छन् । त्यसै क्रममा चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म १६ हजार ३१३ जनाले सचेतना कक्षा लिएको खत्रीको भनाई छ ।
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरि सवारी साधन चलाएको, लेन अनुशासन उलंघन गरेको, तीब्र गति र रात्तोबत्ति उलंघन गरि कारबाहीमा पर्ने चालकलाई ट्राफिक प्रहरीले जरिवानासहित टोकन लिएर एक घण्टाको सचेतना कक्षामा सहभागी गराउँदै आएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार लगायतले भक्तपुरमा ट्राफिक प्रहरीले गर्दै आएका राम्रा कामको प्रशंसा गरेका थिए ।