भक्तपुर । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित भक्तपुरमा पहिलो पटक दुई दिने राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल किक बक्सिङ संघ, भक्तपुर जिल्ला समितिको आयोजनामा प्रतियोगिता यही वैशाख १९ र २० गते जगाती, सूर्यविनायक नगरपालिका–८ मा हुनेछ ।
आज पत्रकार सम्मेलन आयाेजना गर्दै किक बक्सिङ संघ भक्तपुरका अध्यक्ष कृष्ण राम जाकिबञ्जारले प्रतियोगिताको उद्देश्य प्रतिभाशाली खेलाडीहरूलाई पहिचान गरी तालिमद्वारा निखार्ने र भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्न सक्ने क्षमता विकास गर्नु रहेको बताए ।
हालै सम्पन्न १९ औँ एसियाली खेलकुद, गोङ्जाउ, चीनमा किक बक्सिङ समावेश भएसँगै यस खेललाई आगामी एसियाली खेलकुदको तयारीको महत्वपूर्ण अवसरका रूपमा लिइएको छ । प्रतियोगितामा नेपालका सातै प्रदेशका खेलाडीहरूको सहभागिता रहनेछ । देशभरका विभिन्न जिल्लाबाट करिब ११० जना भन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा आयाेजककाे रहेकाे छ ।
प्रतियोगिता विश्व किक बक्सिङ महासंघद्वारा स्वीकृत K-1 नियमावलीअनुसार सञ्चालन हुनेछ । प्रत्येक खेलमा ३ राउण्ड हुनेछ र प्रत्येक राउण्डको अवधि २ मिनेटको हुनेछ। प्रतियोगितामा खेलाडीहरूको शारीरिक क्षमता, प्रविधि र मानसिक बलको उत्कृष्ट प्रदर्शन हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ ११ वटा (४५ केजीदेखि ७५ केजी खुल्ला तौलसम्म) र महिलातर्फ ७ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ। साथै ७ वटा पेशागत (व्यावसायिक) फाइटहरू पनि आकर्षणका रूपमा आयोजना गरिनेछ । खेलाडीहरूको तौल जाँच वैशाख १८ गते हुनेछ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिनेछ भने विशिष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष ट्रफी प्रदान गरिने आयाेजकले जनाएकाे छ ।
प्रतियोगिता सफल बनाउन खेलाडी दर्ताको अन्तिम मिति वैशाख १८ गते तोकिएको छ । साथै, खेलाडीहरूको दीर्घकालीन अभिलेख राखी भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छनोट प्रक्रिया सहज बनाउने निर्णय गरिएको आयाेजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।