भक्तपुरले ढिला गरे प्रत्यारोपण केन्द्र अन्तै सार्ने स्वास्थ्यमन्त्री पौडेलको चेतावनी

भक्तपुरले ढिला गरे प्रत्यारोपण केन्द्र अन्तै सार्ने स्वास्थ्यमन्त्री पौडेलको चेतावनी

बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • भक्तपुरले ढिला गरे प्रत्यारोपण केन्द्र अन्तै सार्ने स्वास्थ्यमन्त्री पौडेलको चेतावनी

    भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको भविष्य भक्तपुरकै हातमा रहेको स्पष्ट संकेत दिएका छन् । यदि छिटो जग्गा उपलब्ध नगराइएमा केन्द्र अन्यत्र सारिने चेतावनी उनले दिएका छन् । 

    भक्तपुरमा बिहीबार आयोजित केन्द्रको १३ औं वार्षिकोत्सवमा बोल्दै मन्त्री पौडेलले केन्द्रलाई यहीँ राख्ने प्रतिबद्धता दोहोर्‍याए तर जग्गाको अभावले सबै योजना रोकिएको जनाउँदै स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दललाई तत्काल पहल गर्न आग्रह गरे ।

    "हामीकहाँ अन्य थुप्रै स्थानले 'हामीलाई ल्याइदेऊ, हामी जग्गा दिन्छौं' भनेर लाइन लगाएका छन् । भक्तपुरमै राख्ने हो भने अब ढिला नगरी जग्गा दिनुहोस्," मन्त्री पौडेलले चेतावनी दिए ।

    उनले मानव अंग प्रत्यारोपण केन्द्रलाई देशभरको प्रत्यारोपण सेवाको नेतृत्वकर्ता अस्पतालको रूपमा विकास गरिने योजना सुनाए । हाल गण्डकी (पोखरा), कर्णाली (सुर्खेत), र लुम्बिनी प्रदेशमा सेवा सुरु भइसकेको र बागमती प्रदेश अन्तर्गत भरतपुर अस्पतालमा एक महिनाभित्र प्रत्यारोपण सेवा सञ्चालन हुने जानकारी दिए ।

    hotc.jpg

    त्यस्तै, सुदूरपश्चिममा गेटा अस्पताल, कोशी प्रदेशमा कोशी अस्पताल वा बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, र मधेश प्रदेशमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तारको तयारी भइरहेको उनले बताए ।

    अंग प्रत्यारोपणको माग उच्च भए पनि आपूर्तिको पक्षमा चुनौती रहेको मन्त्री पौडेलको भनाइ थियो । उनले "ब्रेन डेथ" वा मृत्यु पश्चात अंगदानको महत्त्वबारे आम जनसमुदायमा चेतना फैलाउनु आवश्यक रहेको उल्लेख गरे ।

    अंगदान गर्ने ब्यक्तिका परिवारलाई केन्द्रबाट रु १ लाख र मन्त्रालयबाट थप रु १ लाख सहयोग गरिने पनि उनले स्पष्ट पारे ।

    अन्तमा मन्त्री पौडेलले मुटुको प्रत्यारोपण सेवा सुरु गर्नेतर्फ मन्त्रालय गम्भीरताका साथ लागिरहेको जानकारी दिँदै सबै पक्षलाई समयमै सहयोग गर्न पुनः आह्वान गरे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij