कल्पेश्वर महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा ६० लाख सङ्कलन

कल्पेश्वर महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा ६० लाख सङ्कलन

मंगलवार, बैशाख ९ २०८२
मंगलवार, बैशाख ९ २०८२
  • कल्पेश्वर महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा ६०  लाख सङ्कलन
    भक्तपुर । नगरकोट भ्रमण वर्ष–२०८२ का अवसरमा धार्मिक पर्यटनको विकास गर्ने तथा १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्तिसहितको कल्पेश्वर धाम निर्माणार्थ आयोजना गरिएको शिव पुराण महायज्ञमा हालसम्म  ६० लाख सङ्कलन भएको छ ।
     
    चाँगुनारायण नगरपालिका–८ कलमसीमा कालिका कल्पेश्वरधाम निर्माण गर्ने र त्यहीँ विश्वकै अग्लो महादेवको मूर्ति स्थापना गर्ने सङ्कल्पका साथ यही वैशाख २ गतेदेखि सुरु भएको उक्त महायज्ञमा आजसम्म सो रकम सङ्कलन भएको चाँगुनारायण–८ का वडाअध्यक्ष एवं महायज्ञ आयोजक समितिका संयोजक जनक खत्रीले जानकारी दिए । 
     
    कलमसीमा रहेको ६० रोपनी क्षेत्रफलमा महादेवको मूर्ति वरिपरि एक हजार आठ शिवलिङ्गका साथै विभिन्न धार्मिक संरचना निर्माण गर्न आयोजना गरेको सो महायज्ञ यही वैशाख १३ गतेसम्म सञ्चालन हुनेछ ।
     
    संयोजक खत्रीले भने, “आफ्ना पितृको सम्झनामा सङ्कल्प गरेर एक हजार आठ शिवलिङ्ग स्थापना गर्न दातालाई गुहारेका छौँ ।” एउटा शिव लिङ्गका लागि  ३५ हजार दान गरेर स्थापना गर्न सकिने उनको भनाइ छ । अहिलेसम्म ७१ जनाले शिवलिङ्ग स्थापनाका लागि दान गरेका छन् । कल्पेश्वरको १०८ फिट अग्लो महादेवको मूर्ति निर्माणका लागि  दाताले सहयोग गर्ने क्रम जारी छ । 
     
    चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले भ्रमण वर्षलाई सफल बनाउँदै यस क्षेत्रमा धार्मिक पर्यटकको प्रचुर सम्भावनालाई मूर्तरुप दिन महायज्ञ आयोजना गरिएको बताए। १०८ फिटको मूर्ति निर्माणका लागि करिब  दुई करोड खर्च हुने भएको छ । कल्पेश्वर महादेव मन्दिर नगरकोट भ्यु टावरबाट नजिकै पर्छ । यहाँबाट काठमाडाँै उपत्यकालगायत काभ्रपलाञ्चोकको नाला, बनेपा, धुलिखेलसम्मको दृश्यावलोकन गर्न सकिने छ । 
     
    प्रसिद्ध कलमसी क्षेत्रमा चाँगुनारायण–८, ९ र बनेपा नगरपालिका–१ को सङ्गमस्थलका रुपमा रहेको छ । यस क्षेत्रमा नाग कुण्ड, गोसाइँकुण्ड, २७ धारा, नारायण कुण्डलगायतका धार्मिक संरचना छन् । आसपासमा पुण्यवती नदी, सपनेश्वर महादेव मन्दिर, दक्षिणमा ठूली ब्रह्मायणी मन्दिर, बालकुमारी मन्दिर, पश्चिममा सरस्वती मन्दिर, मणिकर्णिका धाम, वाल्मीकेश्वर महादेव, बागेहिणी महादेव, थाकलमोठस्थित लोकेश्वर महादेव मन्दिर पर्छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij