भक्तपुर औद्योगिक महोत्सवमा तीन करोडको व्यापार

भक्तपुर औद्योगिक महोत्सवमा तीन करोडको व्यापार

मंगलवार, बैशाख ९ २०८२
मंगलवार, बैशाख ९ २०८२
  • भक्तपुर औद्योगिक महोत्सवमा तीन करोडको व्यापार
    भक्तपुर । नयाँवर्ष तथा बिस्केट जात्राका अवसरमा भक्तपुरको सल्लाघारीमा आयोजित नवौँ भक्तपुर औद्योगिक सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव सोमबार सम्पन्न भएको छ । महोत्सवको तीन लाखले अवलोकन गरेका छन् भने करिब तीन करोडको व्यापार भएको छ । 
     
    ‘नयाँ वर्ष नयाँ सोच युवाका लागि छ प्रगतिको स्रोत’ भन्ने नाराका साथ औद्योगिक शान्ति नेपालले उपभोक्ताको हितमा ध्यान दिँदै गत चैत २८ गतेदेखि सुरु गरेको १२ दिने महोत्सवमा एक सय ५० भन्दाबढी प्रदर्शनी कक्ष रहेका थिए । संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार, महोत्सव तीन लाख बढीले अवलोकन गरेका छन् । 
     
    महोत्सवमा दैनिक उपभोग्य सामग्री, खाद्यान्न, भाँडाकुँडाका साथै विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला, अटोमोबाइल, आधुनिक कृषिऔजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामग्रीमा उपभोक्ताको बढी घुइँचो रहेको बताउँदै ती सामानको खरिदमा २० देखि ५० प्रतिशतसम्म छुट दिइएको महतले बताए । 
     
    महोत्सवका संयोजक दीपक थापाले घोडाचढी, बालउद्यान, ड्रागन ब्रेक डान्स, रोटेपिङ, रेनजर, मारुती सर्कस तथा विभिन्न प्रकारका बच्चाको खेलौनाका प्रदर्शनी कक्षमा बालबालिकाको घुइँचो लागेको जानकारी दिए । समापन कार्यक्रममा संस्थाले चर्चित एवं बरिष्ठ गीतकार सुवासचन्द्र ढुङ्गेललाई नगद पाँच हजारसहित सम्मान गरेको छ । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले ढुङ्गेललाई सम्मान गरेका थिए । 
    त्यसैगरी खुला नृत्य प्रतियोगितामा प्रथम हुने पूर्णिमा विकलाई ३० हजारसहित ट्रफी प्रदान गरिएको थियो ।  दोस्रो रतिस गिरी २० हजारसहित ट्रफी र प्रमाणपत्र तथा तेस्रो हुने सागर लामालाई नगद १० हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । 
     
    साङ्गीतिक साँझले झुम्यो भक्तपुर  
     
    महोत्सवको अन्तिम दिन सोमबार आयोजित ‘भक्तपुर साङ्गीतिक साँझ’ले भक्तपुर परिसर झुमेको छ । साँझ ५ बजेदेखि चर्चित गायक एवं ब्याण्डहरू जी बब, मिस्टर डी र कमल खत्रीको प्रस्तुतिले सल्लाघारीको चौर साङ्गीतिक बनेको थियो।
     
    चर्चित लोकगायिका प्रतिमा अर्यालको साङ्गीतिक प्रस्तुतिले दर्शकलाई आकर्षित बनाएको थियो । दर्जनौँ गायक गायिकाको प्रस्तुतिले औद्योगिक महोत्सव अन्तिम दिन साङ्गीतिक महोत्सवमा परिणत भएको आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij