भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी चौरमा आयोजित ९ औं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव ११ दिनसम्मको भव्य र आकर्षक कार्यक्रमसँगै सम्पन्न भएको छ । महोत्सवमा ३ लाखभन्दा बढी दर्शकको उपस्थिति, सांगीतिक झिलिमिली, स्थानीय उत्पादनको प्रदर्शनी र विविध मनोरञ्जन कार्यक्रमले भक्तपुरलाई नयाँ ऊर्जा दिएको छ ।

उपभोक्ता र व्यवसायीको एकै थलोमा जमघट
सुर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले महोत्सवको समापन समारोहमा बोल्दै भने, “महोत्सवले राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान दिलाउनुका साथै उपभोक्तालाई सहुलियत, व्यवसायीलाई बजार, र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने महत्वपूर्ण भूमिका खेलेको छ ।” उनले उपभोक्ता र व्यवसायीलाई ‘एउटै रथका दुई पाङ्ग्रा’ को उपमा दिँदै दुबैको अधिकार रक्षा गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कला र मनोरञ्जनको धमाका
महोत्सवको आकर्षण मध्ये एक रहेको नृत्य प्रतियोगितामा पूर्णिमा बि.क पहिलो स्थान हासिल गर्दै रु. ३०,००० ट्रफी र प्रमाणपत्र जित्न सफल भइन् । रतिस गिरी र सागर लामा दोस्रो र तेस्रो स्थानमा रहँदै क्रमशः रु. २०,००० र १०,००० का साथ पुरस्कृत भए ।

संगीतमा सम्मान र स्वरको झल्को
संगीत क्षेत्रमा योगदान पु¥याउँदै आएका संगीतकार सुवासचन्द्र ढुंगेललाई सम्मानपत्र, खादा र रु. ५,००० नगदसहित सम्मान गरिएको छ । महोत्सव अन्तर्गत आयोजित विशेष सांगीतिक कार्यक्रम वैशाख ८ गते सोमबार हुँदैछ, जहाँ चर्चित गायकहरू जी बब, मिस्टर डी र कमल खत्रीले प्रस्तुति दिनेछन् । कार्यक्रम साँझ ४ः३० बजे सुरु हुनेछ र प्रवेश शुल्क केवल रु. १०० मात्र तोकिएको छ ।

भक्तपुरको पहिचानमा थपिएको अर्को पाटो
नेकपा एमाले जिल्ला अध्यक्ष बचन देउजाले महोत्सवले आफ्नो उद्देश्य पूरा गरेको बताउँदै आगामी वर्ष पनि यसलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए ।
आयोजक संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार “महोत्सव भक्तपुरलाई ‘उद्योग, संस्कृति र कृषि’ को संगमको रूपमा चिनाउन सहयोग पु¥याउँदै आएको छ ।” आयोजक संस्था औद्योगिक शान्ति नेपाल र मध्यपुर ब्वाइज ब्याण्डको संयोजनमा महोत्सव २०७२ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको हो ।
भक्तपुरको यो महोत्सवले केवल व्यापार वा मनोरञ्जन मात्र होइन, सम्पूर्ण नगरको पहिचान, संस्कृति र सामूहिक ऊर्जा प्रस्तुत गरेको एउटा जीवित उत्सवको नमूना बन्यो ।