भक्तपुर । नवौँ भक्तपुर औद्योगिक सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव एक लाख ७५ हजारले अवलोकन गरेका छन् । नयाँ वर्ष तथा बिस्केट जात्राका अवसरमा भक्तपुरको सल्लाघारी चौरमा आयोजना गरिएको महोत्सवमा एक सय ५० कक्षमा राखिएका सामानमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतका अनुसार, ‘नयाँ वर्ष नयाँ सोच युवाहरूको लागि छ प्रगतिको स्रोत’ नाराका साथ चैत २८ गतेबाट सुरु भएको महोत्सव आईतवार साँझबाट समापन हुंदैछ । महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, भाँडाकुँडाका साथै विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।
औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, अटोमोबाइल प्रदर्शनी, आधुनिक कृषि औजार प्रदर्शनी, मोबाइल तथा इलेक्ट्रोनिक्स एवं स्थानीय हस्तकला, कृषि उत्पादनलाई सामानको व्यापार तथा प्रदर्शनी एवं बिक्रीका लागि प्रदर्शनी कक्षहरू राखिएको अध्यक्ष महतले जानकारी दिए ।
महोत्सव आयोजक समितिका संयोजक दीपक थापाका अनुसार, महोत्सवमा साना बालबालिकाका लागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बच्चाको खेलौनास्थलका साथै रोटे पिङ, रेनजर, मारुती सर्कस लगायतका खेल तथा मनोरञ्जनका सामाग्री रहेका छन् । महोत्सवमा स्थानीय खाना महोत्सवका साथै दैनिक राष्ट्रिय कलाकारको विशेष साङ्गीतिक प्रस्तुतिले दर्शकलाई आकर्षित गरेको छ।