तेस्रो पटक जिब्रो छेड्दै सुजन बाग श्रेष्ठले दिए बोडेको जात्रालाई निरन्तरता

तेस्रो पटक जिब्रो छेड्दै सुजन बाग श्रेष्ठले दिए बोडेको जात्रालाई निरन्तरता

मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • तेस्रो पटक जिब्रो छेड्दै सुजन बाग श्रेष्ठले दिए बोडेको जात्रालाई निरन्तरता

    भक्तपुर । भक्तपुरको मध्यपुरथिमी नगरपालिका–२ स्थित बोडेमा मंगलबार परम्परागत 'जिब्रो छेड्ने जात्रा' हर्षोल्लासका साथ मनाइएको छ । यस वर्ष पनि २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्दै जात्रालाई तेस्रो पटक निरन्तरता दिएका छन् ।

    बिस्काः जात्राको अवसरमा हरेक वर्ष वैशाख २ गते मनाइने यो जात्रा विशेषगरी श्रेष्ठ थरका पुरुषले मात्र मनाउने चलन छ । यसपटक पनि सोही परम्परा अनुसार सुजनले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडाएका हु न्।

    सुजन बाग श्रेष्ठ, बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् । बुद्धकृष्ण स्वयं पनि यस ऐतिहासिक परम्परामा संलग्न भइसकेका छन् । उनले पहिलोपटक २०६२ सालमा जिब्रो छेडेका थिए र त्यसपछि २०६५ सम्म लगातार चार पटक जात्रामा सहभागी भएका थिए । पछि जुजुभाइ बास श्रेष्ठले २०६६ देखि २०७२ सम्म आठ पटक जिब्रो छेड्दै जात्रालाई निरन्तरता दिएका थिए । जुजुभाइका परिवारमा बिरामी परेपछि बुद्धकृष्णले पुनः २०७३ मा जात्रामा सहभागिता जनाए । अहिले उनका छोरा सुजनले बुबा र काकाका पाइला पछ्याउँदै परम्परालाई जीवित राखिरहेका छन् ।

    जिब्रो छेड्ने जात्रामा सहभागी हुन चाहने व्यक्ति तीन दिन अघिदेखि निराहार व्रत बस्नुपर्छ । परम्पराअनुसार, जिब्रो छेड्दा कुनै समस्या नआओस् भन्ने विश्वासका साथ यस्तो व्रत बसिन्छ । चैत मसान्तमा बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिंगो उठेपछि मात्र यो प्रक्रिया सुरु हुन्छ ।

    सिञ्चित फलामको १०–११ इन्च लामो सुइरो नाकर्मी नाइकेहरूले गणेश मन्दिरअगाडिको पाटीमा विशेष पूजा गरी तान्त्रिक विधिबाट जिब्रोमा छेड्छन् । त्यसपछि जिब्रो छेडिएको व्यक्तिले अर्धचन्द्राकारको महादीप (भ्वाय) बोकेर बोडेको शक्तिपीठहरू परिक्रमा गर्छन् । परिक्रमा सम्पन्न भएपछि पाँचो गणेश मन्दिरमा सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकिन्छ, र त्यससँगै जात्रा सम्पन्न हुन्छ ।

    यो जात्रा प्राचीन कालदेखि नै चलिआएको जनविश्वास छ । किंवदन्तीअनुसार, बोडेमा विगतमा भुतप्रेत र पिशाचहरूले मानिसहरूलाई सताउँथे । ती आत्माहरूलाई पराजित गर्न तान्त्रिक भीमदत्तले तान्त्रिक विधिबाट पासो राखी पिशाच समातेर उसको जिब्रो छेडी महादीप बोकेर गाउँ घुमाएपछि आजको यो परम्परा सुरु भएको हो ।

    जिब्रो छेड्ने जात्रालाई भक्तजनले दैवी शक्तिको प्रतीकका रूपमा लिन्छन् र यसलाई अद्भुत साहस तथा समर्पणको परम्परा मानिन्छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij