भक्तपुर । गृहमन्त्री रमेश लेखकले लोकतन्त्र प्राप्त पछि सरकारले देशमा धेरै काम गरेपनि केही गर्न सकेन भन्ने नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको बताएका छन् ।
आज भक्तपुरको दुधपाटीस्थित जुद्ध बारुण यन्त्र कार्यालयको नयाँ कार्यालय भबनका उदघाटन गर्दै मन्त्री लेखकले लोकतन्त्रपछि सरकारले केहि गर्न सकेन, देशमा केही भएन भन्ने गरि भाष्य निर्माण गर्नु गलत भएको बताए ।
गृहमन्त्री लेखकले भने, “तत्कालिन राजाले ‘कु’ गरेर प्रजातन्त्र समाप्त पारेको दिन जनताले बिर्सनु भएको छैन भन्ने मलाई विश्वास छ । प्रजातन्त्र समाप्त पारेर राज्य सत्ता एकलौटी हातमा लिएपछि सबभन्दा पहिला नेपाली सेना र प्रहरीले सञ्चार माध्यममा छापा मारेर समाचारमा सेन्सरसिप लगाएको, प्रकाशित पत्रिकाहरु बन्द गराउनेदेखि जफत गरेर लगेको, पत्रकारलाई धम्क्याएको, जनताको आवाज बन्द गराएको सिंगो प्रेस जगत र जनताले बिर्सेका छैनन् । त्यसैले लाेकतान्त्रिक व्यवस्था चाहिदैन भनेर नेपाली जनताले भन्नु सक्नुहुन्न ।”
गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन सक्दैन भन्दै मन्त्री लेखकले भने, “केही हुदै नभएको, केही गर्दै नगरेको होइन, धरै काम भएका छन् । तर, जनताले सोचे जस्तो छिटो काम नभएको पक्कै हो । मुलुकमा समस्या छैनन् भनेर म भन्दिन, समस्या छन्, त्यसलाई हल गर्दै अघि जाने व्यबस्था लोकतन्त्र मात्रै हो ।”

विभिन्न चुनौती र समस्याका बाबजुद धेरै काम भएको बतउदै लेखकले एकतन्त्रीय व्यबस्थाले जनताको आवाज, सञ्चारको आवाज कुल्चिन्छ र लोकतन्त्रले जनता र सञ्चारमाध्यमको आवाजलाई सुनेर समृद्धिको यात्रामा अगाडि बढ्ने लेखकले बताए ।
निरंकशताको शासन जनताले व्यहोरी सकेकाे बताउदै गृहमन्त्री लेखकले जनताले बलिदान दिएर ल्याएको लोकतन्त्रलाई बिर्सिएर फेरी त्यही व्यबस्था चाहियो भनेर जनताले भन्छन् भनेर विश्वास गर्न नसकिन् बताए । राजतन्त्र आउँछ भनेर केही तत्वहरुले भ्रम फैलाइरुहेका बताउदै मन्त्री लेखकले त्यस्ताे भ्रम पनि केही दिनमै सकिने दावी गरे ।
जुनसुकै विपत्तिमा पनि प्रतिकार्यका लागि २४ सै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिदै मन्त्री लेखकले जुद्ध बारुण यन्त्र भक्तपुर गृहमन्त्रालय अन्तर्गत नै रहेकाले मन्त्रालयले जग्गा सम्झौताको म्याद थप गर्न मात्रै नभई दमकलकै नाममा जग्गा ल्याउन लाग्ने बताए । एकैछिनको ढिलासुस्ती र हेलचेक्रईले जनधनको ठुलाे क्षति हुन दिन हुदैन भन्दै लेखकले दमकल थप गर्न पालिकाहरुले पनि थप सहयोग गर्नु पर्ने, आवश्यकता औल्याए ।
२००१ सालदेखि दमकल रहेको जग्गा पछि नेपाली सेनाको नाममा गएको र नयाँ भवन निर्माणका क्रममा सेनासंग ३० वर्षका लागि लिजमा लिएको विषयमा चिन्ता नगर्न आग्रह गर्दै मन्त्री लेखकले गृहमन्त्रालयको दमकल र नेपाली सेनाको नाममा रहेको जग्गा दुबै सरकारको भएकाले यसमा चिन्ता नगर्न आग्रह गरे ।

पुराना दमकललाई भक्तपुरमै म्युजियमका रुपमा बिकास गर्ने प्रस्ताव राम्रो भएको बताउदै लेखकले भने, कसरी म्युजियम बनाउने हो, त्यो सबै अबधारणा अगाडि बढाउनुस्, योजना ल्याउनुस्, हामीसंग भएका पुराना दमकल राखेर म्युजियम बनाउन सकिन्छ, मन्त्रालय सहयोग गर्छ ।”
कार्यक्रममा गृहमन्त्री लेखकले समाचारका माध्यमबाट दमकलकाे विकास र बिस्तारमा याेगदान पुर्याउने पत्रकारहरु नेपाल अर्थ डटकमका पेशल आचार्य, रेडियो नेपाफका पुष्करराज बुढाथोकी,रासस भक्तपुरका समाचारदाता रमेश गिरी र सुर्य किरण डटकमकी लीला श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरेका थिए । त्यसैगरी सहयाेग गर्ने बिभिन्न संस्थाहरु, पूर्वकर्मचारहीहरु र उत्कृष्ठ कर्मचालाई पनि सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा संघीय सांसद एवं नेपाली काँग्रेस भक्तपुरका सभापति दूर्लभ थापाले जुद्ध शमसेरको पालाका स्थापना भएको दमकल भक्तपुरमा रहेको तर भक्तपुरमै जुद्ध शमसेरको भन्दा कडा शासन जनताले सकसपूर्ण रुपमा ब्यहोर्दै आएको बताए । अरु नगरपालिकाले नयाँ दमकल दिईरहदा धेरै र छिटो सेवा गर्नु पर्ने क्षेत्र भक्तपुर नगरपालिकाले भने दमकलका लागि कुनै सहयोग नगरेको थापाकाे भनाइ थियाे ।
गृहमन्त्रालयका सचिव गोकर्णमणि सुवेदीले देशमा हुने आगोलागीका घट्नामा ९४ प्रतिशत मानवीय कारण र चार प्रतिशत मात्रै भवितव्य हुने गरेको बताउदै जस्तोसुकै अवस्थामा पनि खटिने गरि दमकल तयारी अवस्थामा रहनु पर्ने बताए ।
कार्यक्रममा कार्यालय प्रमुख विजयप्रसाद धौभडेलले २००१ सालमा स्थापना स्थापना भई आजको अवस्थासम्म आइपुग्दा भाेग्नु परेको कठिनाई, अवसर, चुनौती र कर्मचारीको बृत्तिबिकासका आवश्यकताका बारेमा बोल्दै भवन निर्माणले नयाँ आशा जगाएको बताए ।

कार्यक्रममा तत्कालिन जिल्ला विकास समितिका प्रमुख नवराज गेलाल, अग्नि नियन्त्रक प्रशिक्षक अरुण आचार्य, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार लगायतले भक्तपुरको दमकललाई प्रबिधिमैत्री, सुविधा सम्पन्न बनाएर लैजानु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सघन शहरी तथा भवन निर्माण आयोजना प्रमुख रमेश थपलियाले ५ करोड ७६ लाख ९८ हजार रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको जानकारी दिए ।