काठमाडौं । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरातलाई ११ रनले हराएको हो ।
पन्जाबले दिएको २४४ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर २३२ रन मात्र बनाउन सक्यो । साइ सुदर्शन र जस बट्लरले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त भएन ।
एक समय जित सम्भव देखिएको अवस्थामा इम्प्याक्ट शबको रूपमा आएका पञ्जाबका विजयकुमार वाइसाकले शानदार स्पेल गर्दै टिमलाई खेलमा फर्काएका थिए ।साइ सुदर्शनले ७४ रन बनाए । त्यस्तै बट्लरले ५४ रन बनाउँदा शेरफान रदरफोर्डले ४६ रन बनाए । कप्तान शुभमन गिलले ३३ रन बनाए ।
पञ्जाबका लागि अर्शदीप सिंहले २ विकेट लिँदा ग्लेन म्याक्सवेल, मार्को यानसेनले १-१ विकेट लिए ।त्यसअघि नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर २४३ रन बनाएको थियो ।
पन्जाबका लागि कप्तान श्रेयस अय्यरले ९७ रनको अविजित पारी खेले । उनले ९ छक्का र ५ चौका प्रहार गरे । शशांक सिंह ४४ रनमा अविजित रहे । ओपनर प्रियांश आर्याले ४७ रनको पारी खेले ।गुजरातका लागि आर साइ किशोरले ३ विकेट लिए भने राशिद खान र कगिसो रबाडाले १-१ विकेट लिए ।