भक्तपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्युनिकरण गर्न स्थानीय तहलाई सक्रिय बनाउनुपर्ने बताएका छन् ।
विश्व क्षयरोग नियन्त्रण दिवसको अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आज आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले क्षयरोगका बिरामी स्वास्थ्य मन्त्रालय र चिकित्सकले मात्र खोजेर नभेटिने बताए ।
पालिका र वडा कार्यालयले चाहे मात्र सबै घरधुरी जानेको,स्थानीयलाई चिनेको र बस्तुस्थिति बुझेको हिसाबले क्षयरोगका बिरामी पत्ता लगाउन सकिने उनको भनाइ थियो ।
शतप्रतिशत उपलब्धि हासिल गर्ने गरी क्षयरोग नियन्त्रण गर्न नीतिगत व्यवस्था गर्न लागिएको भन्दै उनले सरकारले यसको न्यूनीकरणका निम्ति आफ्ना हालसम्मका प्राथमिकता बदलेर नयाँ र प्रभावकारी ढंगले अघि बढ्नुपर्ने जरुरी देखिएको बताए ।

मन्त्री पौडेलले क्षयरोगको निदानका निम्ति मित्रराष्ट्रसँग सहकार्य गर्ने साझा नीति अवलम्वन गर्न जरुरी रहेको बताउँदै खुला सिमानाका कारणले पनि समस्या भएको उल्लेख गरे । क्षयरोग अस्पताल सञ्चलनमा ल्याउन आगामी आर्थिक वर्षमा यसलाई आवश्यक पर्ने बजेट बिनियोजन गर्न लागिएको उनले बताए ।
क्षयरोगमुक्त घोषणा गर्ने गरी सरकारले १४९ पालिकालाई तोकेको बताउँदै मन्त्री पौडेलले देशका ७५३ पालिकालाई नै कसरी क्षयरोग नियन्त्रणमा अघि लैजाने भन्नेमा स्पष्ट नीति बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले क्षयरोगका करिब ४० प्रतिशत अनुमानित क्षयरोग पभावित ब्यक्तिहरु उपचारको दायरामा नआएकोले तिनको खोजी चुनौतिपुर्ण भएको बताए ।
सो अवसरमा क्षयरोग नियन्त्रणमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बिभिन्न ब्यक्ति तथा संघ संस्थालाई सम्मान गरिएको थियो ।