भक्तपुर । फागुपूर्णिमाको अवसरमा भक्तपुरको याँछेंस्थित भीमसेन मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । फागुपूर्णिमाको दिन भीमसेन देवताको विधिवत् रुपमा पूजा र दर्शन गर्नाले आम्दानीको नयाँ स्रोतहरू खुल्नुका साथै व्यापार व्यवसाय फस्टाउँदै जाने धार्मिक विश्वाशका कारण झिसमिसेदेखि नै भक्तजनको भीड लागेको हो ।
आजको दिन भीमसेन मन्दिरमा स्थानीय डाफा भजन खलः, व्यापारी सङ्घ संस्था र पसल सञ्चालन गर्नेहरू बलिसहितको पूजा गर्न भीमसेन मन्दिर पुग्ने गर्छन् । आज टोलटोलमा धिमेबाजा, बाँसुरीलगायत बाजा बजाउँदै विभिन्न टोली भीमसेन मन्दिर जाने गरेका छन् ।
देवताको पूजाअर्चनापछि समयबजी खाएर फागुपर्व मनाउने प्रचलन छ । स्थानीय महिला हाकुपटासीमा सजिएर रङ खेल्दै टोलटोलमा पुग्ने परम्परा पनि अद्यापि कायम छ ।
आजै साँझ दत्तात्रयस्थित तचपाल भीमसेन मन्दिरको पाटीमा प्रदर्शनीमा राखिएको काठले बनेको प्रतीकात्मक पुरुष जननेन्द्रियलाई नगर परिक्रमा गरी ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि यस वर्षको फागुपर्व सम्पन्न हुन्छ । यो प्रतीकात्मक काठको लिङ्ग बोक्ने व्यक्ति पुत्रहीन भएमा कालान्तरमा निजलाई पुत्रप्राप्ति हुने जनविश्वास पनि भक्तपुरमा छ ।