भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधि सभा सांसद प्रेम सुवालले नेपालमा राजा फर्कने कुनै सम्भावना नरहेको बताएका छन् । चाँगुनारायण नगरपालिकाको नवौँ स्थापना दिवसका अवसरमा बोल्दै सुवालले नेमकीपा कहिल्यै पनि राजाको पक्षमा नरहेको बताए ।
पार्टी अध्यक्षको एउटा अन्तर्वार्तालाई काटकुट गरी अतिरञ्जित गर्ने प्रयास भएको आरोप लगाउँदै सुवालले राजा फर्कने दिवा सपना नदेख्न राजावादी दललाई आग्रह गरे । सत्तासिन दलहरूले जनता र देशको पक्षमा काम नगर्दा अशतुष्टि बढेको बताउँदै त्यसैका आधारमा राजसंस्था फर्किन्छ भन्नु भ्रममात्र भएको सुवालको भनाई थियो ।
चाँगुनारायण नगरपालिकाले विसं २०८२ मा आयोजना गर्न लागेको नगरकोट भ्रमण वर्ष २०८२ सफल तुल्याउन आफुले पनि सहयोग गर्ने बताउँदै सांसद सुवालले भ्रमण वर्षसंगै यस क्षेत्रका ऐतिहासिक, पुरातात्त्विक सम्पदाको संरक्षण, उत्खननलाई पनिसँगै लैजानुपर्नेमा जोड दिए ।
चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले नगरपालिकाले नयाँ वर्षको शुुभारम्भसंगै २०८२ सालभरी मनाइने भ्रमण वर्षमा बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न आवश्यक योजना तथा कार्यक्रम अघि बढाउने बताए । नगरपालिकाका सबै पर्यटकीय क्षेत्रको पहिचान गरी प्रवर्दन गरी पर्यटकीय गतीविधि बढाउँने उदेश्यले भ्रमण वर्षको आयोजना गर्न लागिएको र भ्रमण वर्षले सिंगो चाँगुनारायणको समृद्धिमा फड्को मार्ने नगर प्रमुख खत्रीको भनाई थियो ।
कार्यक्रममा नगरपालिकाका निवर्तमान प्रमुख सोमप्रसाद मिश्र, निवर्तमान उपप्रमुख बीना बाँस्तोला, नेपाली काँग्रेसका नगर सभापति शिवहरि केसीलगायतले नगरकोट भ्रमण वर्षलाई सबै मिलेर सफल बनाउँनुु पर्ने बताए । कार्यक्रममा नगरपालिकाको कानुन पुस्तक सार्वजनिक गरिएको थियो भने भ्रमण वर्षका विज्ञ डा. धनश्याम खतिवडाले भ्रमण वर्षको तयारीबारेमा जानकारी दिएका थिए ।