भक्तपुर । बालकोट खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिको बिशेष साधारण सभाले समितिको पुनर्लिखित बिधान २०८१ सर्वसमितिले पारित गरेको छ । बिधानलाई सुर्यबिनायक नगरपालिकाले स्वीकृत गरि अनुमोदन गरेपछि समितिको नयाँ नेतृत्व चयन प्रकृया सुरु गरिने समितिले जनाएको छ ।
गत साधारणसभाबाट बिधान पुर्नलेखन गर्न बनेको समितिले प्रस्तुत गरेको समितिको पुनर्लिखित बिधान बिशेष साधारण सभाले सर्वसम्वत रुपमा पारित गरेको हो । साधारणसधाको उद्घाटन गर्दै सुर्यबिनायक नगरपालिकाका नगर प्रमुख बासुदेब थापाले जीवनको आधारभुत आवाश्यकताको रुपमा रहेको स्वच्छ खानेपानी पाउने नागरिकको हकलाई सुनिश्चित गर्न नगरपालिका लागि परेको बताए ।
नगरपालिकाका प्रमुख थापाले नगरपालिकाले नगरबासीलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउन बृहत्त खानेपानी योजनाको कामलाई तीब्र गतिमा अगाडि बढाएको जानकारी दिए । नगरपालिकाका १ देखि ६ सम्मका वडाबासीलाई मेलम्चीको खानेपानी वितरण गर्नका लागि योजना अघि बढाइएको जानकारी दिदै प्रमुख थापाले बृहत्त खानेपानी आयोजनाको निर्माण कार्य छिटो भन्दा छिटो सम्पन्न गर्न नगरपालिका लागिपरेको बताए ।

नगरपालिकाका उपप्रमुख तथा नगरपालिकाको तर्फबाट खानेपानी संयोजक सरिता तिमल्सिना भट्टराईले छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गर्न सरोकारवाला निकायहरु सँग आवश्यक समन्वय, सहकार्य गरि यथासक्य पानी वितरण गर्न लागिएको जानकारी दिइन । कार्यक्रममा बरिष्ठ पत्रकार कविर राणा, सुर्यविनायक वडा नं.२ का वडाध्यक्ष प्रदीप कार्की, ३ का वडाध्यक्ष दिपेन्द्र केसी लगायतले मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न ढिलाई भएकोप्रति चासो ब्यक्त गरेका थिए ।
बिशेष साधारण सभाले समितिका अध्यक्ष रामभक्त माडी श्रेष्ठ, सचिब हरिशरण अधिकारीले प्रस्तुत गरेको प्रतिबेदन पारित गरेको छ । सो अवसरमा बिविध कारणले समितिको बार्षिक साधारणसभा तथा निर्वाचन लामो समयदेखि हुन नसकेको जानकारी गराइएको थियो ।