भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीलाई कालोमोसो दल्न खोज्ने दुईजना पक्राउ परेका छन् । भक्तपुर सानोठिमिस्थित अधिकारीको कार्यकक्षमै गएर कालोमोसो दलेको आरोपमा जिल्ला प्रहरी परिसर भक्तपुरले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अछामको कमलबजार नगरपालिका –६ घर भई काठमाडौं कलंकी बस्ने बर्ष ३० को डम्बर बहादुर शाही भन्ने डी.बि. शाही र दार्चुलाको मार्मा गाँउपालिका–२ घर भई हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका–२ बस्ने बर्ष ३० को नवराज भट्ट रहेका छन् ।
आफूलाई अखिल क्रान्तिकारी वैद्य समूहको बताउने उनीहरुले भेटघाट गर्ने भन्दै फागुन ६ गते पौने १२ बजे अधिकारीको कार्यकक्षमा पसेर अभद्र व्यवहारका साथै कालो मोसो दल्ने प्रयास गरेको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
उनीहरुलाई आइतवार बिहान ८ बजे भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–गट्ठाघरबाट पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । घट्नाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।