भक्तपुर। भक्तपुरको एक गोठमा मृत भेटिएका गोपाल ढकालको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पनेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का २९ वर्षिय सन्तोष सुवाल रहेका छन् ।
हत्यापछि फरार रहेका सुवाललाई काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ बाट शनिबार प्रहरीले पक्राउ गरेको हो । फागुन ९ गते राति तेह्रथुम छथर गाउँपालिका–२ घर भई सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने ३३ वर्षीय गोपालप्रसाद ढकाल वेपत्ता भएका थिए ।
कोठाबाट तेल किन्न भनि निस्किएका ढकाल कोठा नफर्किएपछि परिवारले प्रहरी वृत्त जगातीमा निवेदन दिएका थिए। खोजी गर्ने क्रममा पर्सीपल्ट सूर्यविनायक–८ वडा कार्यालय नजिकै रोशन बस्नेतको गोठमा रगत लतपतिएको अवस्थामा उनको शव फेला परेको थियो ।
ढकाल र सुवालबीच आपसी झगडापछि ढकालको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । सुवालको साथबाट मृतकको मोबाइल र फोटोमा देखिएको ज्याकेट बरामद गरेको प्रहरीले बताएको छ।