भक्तपुर । सूर्यविनायक नगरपालिकामा एचपीभी खोप अभियान २०८१ को तयारी पुरा भएको छ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि सरकारले सञ्चालन गरेको किशोरी लक्षित एचपीभी खोप अभियानको सबै तयारी पुरा भएको सूर्यविनायक नगरपालिकाका प्रमुख एवं नगरस्तरीय खोप समन्वय समिति संयोजक बासुदेव थापाले जानकारी दिए ।
थापाको अध्यक्षतामा बसेको खोप समितिको बैठकले खोपको तयारी पूरा भएकाले अभियानमा शतप्रतिशत लक्ष्य हासिल गर्ने निर्णय गरेको छ।

एचपीभी खोप अभियानका लागि नगरपालिकाका ७६ बिद्यालयहरुलाई खोप केन्द्र कायम गरिएको थापाले जानकारी दिए । कक्षा ६ देखि कक्षा १० मा अध्यनरत, १० बर्षदेखि १४ बर्ष उमेर समुहका बालिकालाई यो खोप लगाईने उनले जानकारी दिए ।
खोप लगाउन नगरपालिकामा ७१ जना स्वास्थ्यकर्मी र १४२ जना स्वयंसेवक खटाइएको छ । विद्यालय क्षेत्रका ३८३४ बालिका र विद्यालय बाहिरका करिब ३२८ बालिका गरी जम्मा ४१६२ बालिकाहरुलाइ खोप लगाइने नगरप्रमुख थापाले जानकारी दिए ।
माघ २२ गते अर्थात् आजबाट फागुन ६ गते सम्म चल्ने यो खोप अभियान आज १०ः३० बजे नगर प्रमुख बासुदेव थापाले अरनिको माध्यमिक बिद्यालयबाट शुभारम्भ गर्नेछन् ।
लक्षित समुहका आफ्ना नानीहरुलाई क्यान्सर प्रतिरोधात्मक खोप लगाउन सम्पुर्ण अभिभावकहरुलाई नगरपालिकाले अनुरोधसमेत गरेको छ ।