भक्तपुर । सूर्यविनायक नगरपालिकाको कार्यालय अब आफ्नै भवनमा स्थानान्तरण हुने भएको छ । यही माघ १४ गते सोमबारबाट नगरपालिकाले आफ्नै भवनबाट सेवासुविधा दिन सुरु गर्ने नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

हालको कार्यालयको नजिकै बनेको नयाँ भवन बाबुरत्न जेभी कन्स्ट्रक्सन कम्पनीले भ्याटबाहेक २० करोड ४१ लाख ५२ हजार रुपैयाँ बराबर रकममा निर्माण गरेको प्रवक्ता सापकोटाले जानकारी दिए । भवन पूर्णरुपमा अपाङ्गमैत्री रहेको प्रवक्ता सापकोटाले दाबी गरेका छन् ।
६ रोपनी ११ आना २ पैसा ३ दाम क्षेत्रफलमा फैलिएको कार्यालय परिसरमा भवन मात्रै ३ रोपनी एक आनामा बनेको छ । नयाँ भवनमा करिब ५०० सवारी साधन अट्ने दुई तल्लाको बेसमेन्ट पार्किङ रहेको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत तारानाथ लुइँटेलले जानकारी दिए ।

नवनिर्मित भवनमा दुईवटा लिफ्ट, ३०० जना अट्ने सेमिनार हल, दुई वटा वैठक कक्ष, एउटा पुस्तकालय र एउटा तालिम कक्ष रहेका छन् । त्यस्तै, ९२ वटा कार्यालय कक्ष साथै स्तनपान कक्षसमेत रहेको कार्यकारी अधिकृत लुइँटेलले जानकारी दिए ।
हाल नगरपालिकाले सेवा सुविधा दिँदै आएको भवनका लागि मासिक १ लाख २० हजार रुपैयाँ भाडा तिर्ने गरेको नगरपालिकाका प्रमुख बासुदेव थापाले जानकारी दिए ।
नयाँमा भवनमा कार्यालय सरेपछि नगरबासीलाई सेवा लिन आउँदा थप सहज हुने नगरप्रमुख थापाको भनाइ छ । हालसम्म नगर कार्यपालिकाले ९९ वटा कानुनहरु बनाइसकेको नगरप्रमुख थापाले बताए ।
पत्रकार सम्मेलनमा नगर उपप्रमुख सरिता तिम्सिना भट्टराई, वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।
