मध्यपुरथिमि नगरपालिकाको आम्दानी १४ करोड, कुन महिना कति ?

मध्यपुरथिमि नगरपालिकाको आम्दानी १४ करोड, कुन महिना कति ?

शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • मध्यपुरथिमि नगरपालिकाको आम्दानी १४ करोड, कुन महिना कति ?

    भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा  १४ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले आन्तरिक स्रोतबाट १४ करोड २८ लाख १९ हजार ६ सय ९० रुपैयाँ सङ्कलन गरेको हो ।

    यो पालिकाको कूल वार्षिक राजस्व सङ्कलन लक्ष्यको ३९.३६ प्रतिशत हो । यहाँ चालु आर्थिक बर्षमा ३६ करोड २८ लाख ७ हजार रुपैयाँ आन्तरिक स्रोतबाट राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको छ । 

    उपप्रमुख विजयकृष्ण श्रेष्ठले गत आर्थिक वर्षको तुलनामा यस वर्ष नक्सा पास कम भएकाले लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको जानकारी दिए । गत वर्ष यस नगरपालिकाले घर नक्साको अभिलेखीकरण खुलाएको थियो । 

    यस वर्ष घर नक्सा पासमा राजस्व सङ्कलनमा कमी आए पनि व्यवसाय, घरबहाल र विज्ञापन कर शीर्षकमा राजस्व वृद्धि भएको उपप्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार व्यवसाय कर, घरबहाल कर र विज्ञापन कर शीर्षकमा गत आवको तुलनामा यस वर्ष २ करोड ५२ लाख ८९ हजार ८ सय ८८ रुपैयाँ भन्दाबढी राजस्व सङ्कलन भएको छ । 

    नगरपालिकाले चालु आवको पहिलो छ महिनामा सबैभन्दा धेरै असोजमा ३ करोड ६० लाख ५६ हजार ३७ रुपैयाँ, साउनमा ३ करोड २७ लाख ८५ हजार ४ सय ५२ रुपैयाँ र भदौमा २ करोड ४३ लाख ५३ हजार ४ सय ७३ रुपैयाँ आन्तरिक आम्दानी गरेको थियो ।

    यसैगरी कात्तिकमा १ करोड ९८ लाख १२ हजार ३ सय ६६ रुपैयाँ, मङ्सिरमा २ करोड ८ लाख १६ हजार १ सय ७४ रुपैयाँ र पुसमा सबैभन्दा कम ९४ लाख १७ हजार ९ सय ८१ रुपैयाँ राजस्व सङ्कलन गरिएको नगरपालिकाले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij