स्वस्थ बुढ्यौली परियोजनाका लागि चाँगुनारायण नगरपालिका र रेडक्रस बीच सम्झौता

स्वस्थ बुढ्यौली परियोजनाका लागि चाँगुनारायण नगरपालिका र रेडक्रस बीच सम्झौता

बिहिवार, फाल्गुण १७ २०८०
बिहिवार, फाल्गुण १७ २०८०
  • स्वस्थ बुढ्यौली परियोजनाका लागि चाँगुनारायण नगरपालिका र रेडक्रस बीच सम्झौता

    भक्तपुर । चाँगुनारायण नगरपालिकामा स्वीस रेडक्रसको आर्थिक सहयोगमा चाँगुनारायण नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीसंंगको साझेदारीमा स्वस्थ बुढ्यौली परियोजना संचालन गर्ने भएको छ । चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरुको उपस्थितीमा परियोजना संचालन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

    चाँगुनारायण नगरपालिकाको तर्फबाट नगर प्रमुख जीवन खत्री र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका तर्फबाट परशुराम पाण्डेले आज एक कार्यक्रमका बीच चाँगुनारायण नगरपालिकामा सम्झौता पत्रमा हस्ताक्षर गरी आदान प्रदान गरेका थिए ।  

    sahara 3.jpg

    चाँगुनारायण नगरपालिकामा आयोजित द्विपक्षीय सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीबन खत्रीले चाँगुनारायण नगरपालिकाले नगरबासी ज्येष्ठ नागरिकहरुको लागि स्वास्थ्य तथा संरक्षणको क्षेत्रमा संचालन गरेका गतिविधहरुलाई समेत समावेश गरी स्वस्थ, सुरक्षित, मर्यादित र सक्रिय जीवनयापनको लागि सक्षम बनाउनकोे लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा मार्फत स्वीस रेडक्रसले आर्थिक सहयोग तथा साझेदरीमा परियोजना संचालन गर्न गइरहेकोमा स्वीस रेडक्रस प्रति हार्दिक आभार ब्यक्त गरे । उनले चाँगुनारायण नगरपालिकाको तर्फबाट आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकहरुका लागि विभिन्न कार्यक्रमहरु समावेश गरेको जानकारी दिए । 

    नगर प्रमुख खत्रीले मानव अधिकारको प्रत्याभुति, सुरक्षित र सम्मानित जीवन जिउन पाउने प्रत्येक ज्येष्ठ नागरिकको मानविय अधिकारको संरक्षण गर्दै, ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरुमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरि निजहरुप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्दै सभ्य तथा स्वस्थ समाजको निर्माण आजको आवश्यकता रहेको जानकारी गराउँदै यस प्रकारको कार्यमा चाँगुनारायण नगरपालिका रेडक्रस लगायत अन्य गैह्र सरकारी संस्थासंग सधै सहकार्य गर्न तयार रहेको बताए । 

    चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणि पन्थीले ज्येष्ठ नागरिकको लागि कार्यक्रम गर्नु भनेको हामीले आफ्नै लागि सुरक्षित समाजको निर्माण गर्नु हो भन्ने कुरा बताए । उनले चाँगुनारायण नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण, अक्सिजन निःशुल्क रुपमा वितरण, विभिन्न औषधीहरु निःशुल्क वितरण, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, ज्येष्ठ नागरिक समुह गठन, बाद्यबाधन सामग्रीहरु वितरण, धार्मिक भ्रमण जस्ता विविध कार्यक्रम तथा गतिविधिहरु संचालन गरिएको जानकारी दिए । उनले स्वस्थ बुढ्यौली परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्ने प्रतिवद्धता पनि ब्यक्त गरे ।

    नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्लाकाका सभापति परशुराम पाण्डेले नेपाल रेडक्रस सोसाइटी सरकारको सहयोगी निकायको रुपमा कार्य गर्दै आएकोमा स्थानीय तहसंगको सहकार्य तथा समन्वयमा ज्येष्ठ नागरीकहरुको लागि कार्य गर्न गइरहेको चाँगुनारायण नगरपालिकालाई धन्यवाद दिए । उनले विगतमा धेरै परियोजनाहरु भक्तपुर जिल्ला शाखा मार्फत नेपाल रेडक्रस सोसाइटीले संचालन गरेको जानकारी पनि गराए ।

    नेपाल रेडक्रस सोसाइटीका उपनिर्देशक बालकृष्ण सेँढाईले ज्येष्ठ नागरिकहरुको लागि परियोजना संचालनको आवश्यकता, महत्वका बारेमा जानकारी गराएका थिए । उनले सहारा परियोजना स्थानीय तह र नेपाल रेडक्रस सोसाइटीले सम्झौता गरी पालिकाको नेतृत्वमा समुदायमा संचालन हुन गइरहेको पहिलो परियोजना भएको पनि जानकारी दिए ।  

    चाँगुनारायण नगरपालिकाका ज्येष्ठ नागरीकहरुको स्वास्थ्य तथा सम्पन्नतामा सुधार ल्याउन सहयोग गर्ने, ज्येष्ठ नागरीकहरुको लागि आवश्यक सेवाहरुको पहुँचमा अभिबृद्धि गर्ने र ज्येष्ठ नागरीकहरु प्रति समाजले गर्ने कार्य तथा ब्यबहारहरुमा सकारात्मक परिवर्तन ल्याउने उद्धेश्यका लागि संचालन हुन गइरहेको सहारा परियोजना ज्येष्ठ नागरिक मिलन केन्द्र मार्फत चाँगुनारायण नगरपालिकाका ९ वटै वडामा संचालन गरिनेछ । जनवरी २०२४ देखि डिसेम्बर २०२६ सम्म ३ वर्षका लागि संचालन हुने परियोजनाको कुल लागत ३ करोडको हुनेछ । स्वीस रेडक्रसले परियोजनाको कम्तीमा ५० प्रतिशत लागत ब्यहोर्नेछ भने बाँकी रकम नगरपालिकाले वार्षिक बजेटबाट विनियोजन गर्नेछ ।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका मन्त्री धर्मराज कार्की, कोषाध्यक्ष प्रदिप कुमार के.सी, जिल्ला सदस्य एवं वडा नं २ का वडा अध्यक्ष सोम प्रसाद प्रधान,  नगरपालिकाका शिक्षा शाखा प्रमुख बीर बहादुर खड्का, सामाजिक विकास शाखा प्रमुख नीला कुमारी घिमिरे, स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवाल, योजना शाखा प्रमुख अनुप लामिछाने, पूर्वाधार विकास शाखा प्रमुख विश्वजीत होना, ने.रे.सो केन्द्रीय कार्यालयका स्वास्थ्य विभागकी निर्देशक मोना अर्याल, उपनिर्देशक बालकृष्ण सेँढाई, अधिकृत राजु राउत, चाँगुनारायण नगरपालिकाका विपद् विज्ञ दिनेश थापा, भक्तपुर रेडक्रसका कार्यालय प्रमुख उमा थापा लगायतको उपस्थिती रहेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij