जय ट्रफी : पहिलो दिन जनकपुरमा मधेस १०२ रनमै अलआउट, वाग्मती ६८ रनले पछि

जय ट्रफी : पहिलो दिन जनकपुरमा मधेस १०२ रनमै अलआउट, वाग्मती ६८ रनले पछि

आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • जय ट्रफी : पहिलो दिन जनकपुरमा मधेस १०२ रनमै अलआउट, वाग्मती ६८ रनले पछि

    काठमाडौं । मोफसलमा जारी जय ट्रफी पुरुष इलाइट कपको पहिलो दिन जनकपुरमा वाग्मती प्रदेशविरुद्ध घरेलु टिम मधेस १०२ रनमै समेटिएको छ ।

    जनकपुरस्थित रामजानकी मैदानमा भएको खेलको स्टम्प हुँदासम्म मधेसविरुद्ध वाग्मती ६८ रनले पछि परेको छ ।

    खेल बिहान नौ बजेदेखि सुरु हुने तालिका रहे पनि बाक्लो हुस्सुका कारण करिब दुई घण्टा रोकिएको थियो । खेलमा टस जितेर ब्याटिङमा आएको मधेसले पहिलो इनिङमा ३५.३ ओभर खेल्दा सबै विकेट गुमाएर १०२ रनमात्र बनाउन सक्यो ।

    मधेसका मयन यादवले सर्वाधिक २१ रन बनाए । उनले ३६ बलमा एक चौका र एक छक्का प्रहार गरे । विशाल पटेलले १६ रन थपे । निरज यादवले १२, अभिषेक तिवारीले ११ र हिमांशु दत्तले १० रन बनाए ।

    मधेसलाई सस्तैमा रोक्न वाग्मतीका कप्तान सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए । १४ ओभर बलिङ गरेका सन्दीपले दुई मेडन फ्याक्दै ४१ रन खर्चिए ।

    सूर्य तामाङले तीन विकेट लिए । नन्दन यादव र प्रतिश जिसीको नाममा समान एक विकेट रह्यो ।

    पहिलो दिन मधेसविरुद्ध १३ ओभरमा ३४ रन बनाउँदा वाग्मतीले दुई विकेट गुमाएको छ ।

    वाग्मतीबाट अविजित रहेका सुभ कंशाकार २२ र इशान पाण्डे नौ रनमा खेलिरहेका छन् । त्यसअघि वाग्मतीका ओपनर रित गौतम तीन रन र आशुतोष घिरैया शून्यमा पभेलियन फर्किएका थिए ।

    मधेसका रुपेश सिँह र विशाल पटेलले समान एक विकेट लिएका छन् ।

    प्रतियोगिताको दोस्रो दिन बिहान नौ बजेदेखि खेल सुरु हुने तालिका छ ।

    प्रतियोगिताको लिग चरणका खेलहरू दुई दिनको हुनेछ । जसमा एक दिनभर कुल ९० ओभर खेलाइने हुँदा एक टिमले ६० ओभर खेल्न पाउने छन् । प्रतियोगिताको फाइनल भने तीन दिनको हुनेछ ।

    आजदेखि सुरु भएको प्रतियोगितामा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबसँगै मधेस र वाग्मती प्रदेश प्रतिस्पर्धामा छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij