भक्तपुर । नेपालको एक मात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) का फोटो प्रमुख रत्न कृष्ण श्रेष्ठको फोटो पुस्तक प्रकाशित भएको छ । मध्यपुर महोत्सवको अवसरमा श्रेष्ठले भक्तपुरको मौलिकता झल्काउने ११९ तस्वीर भएको फोटो किताव सार्वजनिक गरेका हुन् ।
तस्वीर किताबको मुद्रण आर प्रिन्ट पोइन्ट, मध्यपुर थिमिले गरेको छ । त्यस्तै, सम्पादन जगत् कृष्ण प्रजापतिले गरेका छन् भने प्रकाशक मध्यपुर थिमि नगरपालिका रहेकाे छ ।
लेखक श्रेष्ठले मध्यपुर थिमिका विविधता र सांस्कृतिक धरोहरलाई जनमानसमा चिनाउनका लागि उक्त फोटो पुस्तक प्रकाशन गरेको बताए । ती तस्वीरहरुले केवल स्थानीय कला संस्कृतिलाई दस्तावेज गर्ने काम मात्र नगरेर पछिल्ला पिँढीलाई समेत आफ्नो परम्परा र संस्कृतिसँग जोड्न प्रेरित गर्ने उनले दाबी गरे ।
‘हाम्रो मध्यपुर थिमि’ नाम राखि प्रकाशन गरिएको उक्त पुस्तकले मध्यपुर थिमिको सम्पदाहरुलाई जगेर्ना गर्न, प्रचारप्रसार गर्न र विश्वसामु नै सांस्कृतिक धरोहरका रुपमा परिचित गराउन सहयोग पुर्याउने लेखक श्रेष्ठको विश्वास छ । पुस्तकमा मध्यपुर थिमिका ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरु, जात्राहरु, चाडपर्व, परम्परागत नृत्य, जिवनशैली, सीप तथा प्रविधि लगायतको तस्विरसँगै संक्षिप्त जानकारीहरु समेटिएको छ ।
