भक्तपुर । गत आर्थिक वर्षमा मध्यपुर थिमी नगरपालिका–३ स्थित एकता वचत सहकारीको नाफा बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा सहकारीको नाफा ६२ लाख रुपैयाँले बढेको हो ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा एकता सहकारीले १ करोड २४ लाख रुपैयाँ नाफा गरेको थियो । उक्त नाफा यसपटक ६२ लाख रुपैयाँले बढेर १ करोड ९१ लाख रुपैयाँ पुगेको हो ।
गत आर्थिक वर्षको अन्तिमसम्ममा सहकारीले ३४ करोड ७ लाख रुपैयाँ बराबर रकम ऋण र सापटीबापत परिचालन गरेको छ । सो समयसम्ममा सहकारीसँग बचतकर्ताले जम्मा गराएको २५ करोड ६५ लाख रुपैयाँ निक्षेपसहित ३९ करोड १६ लाख रुपैयाँ दायित्व छ ।
गत आर्थिक वर्षमा सहकारीले ६ करोड ८४ लाख रुपैयाँ कुल आम्दानी र ५ करोड १८ लाख रुपैयाँ खर्च गरेको थियो ।
असार मसान्तसम्ममा सहकारीले कर्जा नोक्सानी व्यवस्था अनुसार १ करोड ७० लाख रुपैयाँ रकम छुट्याएको छ ।
२०५७ असारमा २५ जनाबाट सुरु भएको उक्त सहकारीमा हाल सदस्य संख्या १५ सय भन्दा बढी पुगेको अध्यक्ष माधव प्रसाद ढकालले जानकारी दिए । असार मसान्तसम्ममा १४८३ शेयर सदस्यहरुबाट ४ करोड ६४ लाख ८७ हजार १०० रुपैयाँ शेयर पुँजी संकलन गरिएको उनले जानकारी दिए ।
