भक्तपुर । फरक राजनीतिक विचारधारा बोकेर चुनाव लडेर जितेका भक्तपुरका जनप्रतिनिधिको विकास निर्माण कार्यमा भने एकै मत छ ।जनप्रतिनिधिहरुको आज बसेको वैठकले समग्र भक्तपुरको विकासका लागि सबै एक भएर अघि बढ्ने प्रतिवद्धता जनाएका हुन् ।

संघीय तथा प्रदेशका सांसदहरू लगायत अन्य पार्टी प्रतिनिधिहरुको शनिबार बसेको वैठकले भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका- ७ गुण्डुमा निर्माणाधिन यातायात कार्यालय भवन निर्माण प्रक्रियालाई निरन्तरता दिन भक्तपुरबाट निर्वाचित संघीय साथै प्रदेश सभाका सांसदले ऐक्यबद्धता जनाएका छन् । साे कार्यालय भवन निर्माणका लागि प्रक्रिया अघि बढी टेण्डर समेत आह्वान भइसकेको र मोबिलाइजेसन कष्ट समेत ठेकेदार कम्पनीले लिइसकेका कारण राज्यको लगानी खेर जान नदिन समेत साे कार्य सम्पन्न हुनु आवश्यक रहेको उनीहरूकाे ठम्याइ छ ।
भवन निर्माण हुने क्षेत्रको माटो बेचेको र वैकल्पिक सडकको व्यवस्था नगरेको भन्दै जिल्ला समन्वय समिति भक्तपुरले साे कार्यालय भवन निर्माण प्रकृया करिब एक वर्ष अघि रोकिदिएको थियो ।
वैठकमा संघीय सांसद् दुर्लभ थापा, रमा काेइराला पाैडेल, शन्ताेश परियार तथा बागमति प्रदेशका सांसदद्वय किरण थापा र सुरेश श्रेष्ठ लगायतको सहभागिता रहेकाे थियाे । बैठकका सहभागीले जिल्लाका विकास निर्माण कार्यमा एक भएर जान सहमत भएकाे बागमती प्रदेश सभा सदस्य किरण थापाले बताए ।
